ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तयारीबारे चार ओटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेको छ ।
सोमबार आयोगको कार्यालयमा आयोजित बैठकमा मानव अधिकार संरक्षण तथा निर्वाचन सुरक्षासम्बन्धी विषयमा केन्द्रित भएर छलफल गरिएको हो ।
आयोगका अनुसार निर्वाचनका क्रममा मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा खटिने कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्ने विषयमा विशेष जोड दिइएको थियो ।
आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई आग्रह गरेका थिए ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले आवश्यक सामग्रीमा केही कमी भए पनि उच्च मनोबलका साथ निर्वाचन सम्पन्न गराउने तयारी भइरहेको जानकारी दिएका थिए ।
छलफलमा नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको उपस्थिति रहेको थियो । साथै आयोगका पदाधिकारीहरू पनि सहभागी थिए ।
आयोगले निर्वाचन सुरक्षाका लागि आवश्यक सञ्चार, सुरक्षा तथा यातायातलगायत सामग्रीहरूको यथोचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको जनाएको छ ।
निर्वाचनलाई मानव अधिकारमैत्री र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको आयोगको निष्कर्ष छ।