पोखरा । होटल सङ्घ पोखरा नेपालले पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिई सोही अनुसार सुविधा उपलब्ध गराउन माग गर्दै नेपाल सरकारसमक्ष पाँच बुँदे ध्यानाकर्षण पत्र पेश गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हालाई २०८२ पुस १२ गते ध्यानाकर्षणपत्र बुझाउँदै सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले चालू बजेटमा पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता प्रदान गर्ने उल्लेख भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेकोप्रति ध्यानाकर्षण गराउनु भयो ।
मन्त्री सिन्हालाई पोखरामा स्वागत गर्दै सङ्घले उक्त विषयलाई शीघ्र कार्यान्वयनमा लैजान आग्रह गरेको हो ।
ध्यानाकर्षण पत्रमार्फत सङ्घले हाल आन्तरिक उडानमा मात्र सीमित रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत र चीनका विभिन्न शहरहरूमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आवश्यक पहल अगाडि बढाउन माग गरेको छ ।
छिमेकी देशका सीमावर्ती शहर तथा आन्तरिक पर्यटकलाई लक्षित गर्दै प्रादेशिक शहरहरूबिच आन्तरिक हवाई सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
यसैगरी, २०७२ सालभन्दा पहिले निर्माण भएका साना तथा मझौला होटल उद्योगहरूका लागि वातावरणीय अध्ययन व्यवहारिक नभएको भन्दै उक्त प्रावधान खारेज गर्न सङ्घले माग गरेको छ ।
जेन–जी आन्दोलनबाट प्रत्यक्ष प्रभावित होटल प्रतिष्ठानहरूको पुनरुत्थानका लागि उचित राहत व्यवस्था गर्नुपर्ने र पोखरासँग जोडिएका मुख्य राजमार्गहरूको स्तरोन्नति कार्य तोकिएको समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई दबाब दिनुपर्ने विषय पनि ध्यानाकर्षणपत्रमा समेटिएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री सिन्हाले पर्यटन क्षेत्रलाई उद्योग सरहको सहुलियत दिने विषयमा छलफल अगाडि बढिसकेको र छिट्टै कार्यान्वयनमा जाने आश्वासन दिनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने विषयमा सरकार सक्रिय रहेको बताउँदै यस सम्बन्धमा सङ्घीय सरकारको ध्यान पटक–पटक आकर्षण गराइएको जानकारी दिनु भयो ।
सङ्घका सल्लाहकार विश्वशङ्कर पालिखेले नेपालमा अपेक्षित सङ्ख्यामा पर्यटक नआउनुको कारण पहिचान गर्न आवश्यक रहेको धारणा राख्नु भयो ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले लगानीको सुरक्षा र व्यावसायिक वातावरण निर्माण गर्न सरकार गम्भीर बन्नुपर्ने तथा आमनागरिकले सुरक्षाको अनुभूति गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनु भयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले बङ्गलादेशी र श्रीलङ्कन मुद्रा सटहीको सहज व्यवस्था गर्न सके पर्यटन प्रवर्धनमा टेवा पुग्ने सुझाव दिनु भयो ।
पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले लेकसाइड क्षेत्रको पार्किङ व्यवस्थापन गर्नुपर्ने र फेवातालको मापदण्डसम्बन्धी अदालतको फैसला सच्याइनुपर्ने माग गर्नु भयो ।
कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष विकल तुलाचनले धन्यवाद ज्ञापन गर्नु भयो भने कार्यक्रमको सञ्चालन सङ्घका कोषाध्यक्ष नेत्रप्रसाद पौडेल (रमेश)ले गर्नुभएको थियो ।
