काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारप्रति दिएको धम्कीपूर्ण अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्न मानवअधिकारकर्मी तथा नागरिक अगुवाहरूले माग गरेका छन् ।
२०८३ भदौ २३ गते गृहमन्त्री गुरुङले दिनुभएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै वरिष्ठ मानवअधिकारकर्मी एवम् मानव आवाजका सल्लाहकार सुबोधराज प्याकुरेलसहित मानवअधिकारकर्मी, वरिष्ठ अधिवक्ता तथा युवा अभियन्ताहरूले वक्तव्यमार्फत आपत्ति जनाएका हुन् ।
वक्तव्यमा गृहमन्त्रीजस्तो शान्ति सुरक्षा, अमनचयन तथा विपद् व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारीमा रहेको व्यक्तिबाट आउने अराजक शैली र अभिव्यक्तिले राज्य सञ्चालनको मर्यादा र गम्भीरतामाथि नै प्रश्न उठाउने उल्लेख छ ।
गृहमन्त्रीको चयन तथा उहाँमाथि लागेका आरोपबारे गरिएको अनुसन्धानप्रति आफूहरूले राखेको शङ्काका बिच आम पत्रकारमाथि गरिएको आक्रामक टिप्पणीले पदको मर्यादा, संयम र गाम्भीर्यता नबुझेको अनुभूति भएको अधिकारकर्मीहरूको भनाइ छ ।
पत्रकारको प्राथमिक दायित्व राज्य संयन्त्रमा जिम्मेवारी वहन गर्ने व्यक्तिलाई प्रश्न गर्नु र उनीहरूलाई जवाफदेही बनाउनु रहेको वक्तव्यमा उल्लेख छ ।
पञ्चायतकालदेखि नै अनेक कठिनाइ, चुनौती, धाक र धम्कीबीच नेपाली सञ्चार जगतले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको र त्यसले लोकतन्त्र, सुशासन तथा भ्रष्टाचार उजागर गर्ने अभियानमा महत्वपूर्ण योगदान पुर्याएको उनीहरूले बताएका छन् ।
पञ्चायतविरोधी आन्दोलन, सशस्त्र द्वन्द्व, नारायणहिटी दरबार हत्याकाण्डपछिको अन्योल, तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्धको आन्दोलन तथा संविधान निर्माणका राजनीतिक चुनौतीका समयमा नेपाली सञ्चार क्षेत्रले जिम्मेवार भूमिका निर्वाह गरेको वक्तव्यमा स्मरण गरिएको छ ।
‘अधिनायकवादी शैली’ अपनाउने राज्य सञ्चालकहरूको सामना नेपाली पत्रकारहरूले विगतमा पनि गरेको उल्लेख गर्दै उनीहरूले डर, त्रास र धम्कीका सामु पछि नहटी नागरिकलाई सुसूचित गराउने काम सञ्चारकर्मीले गर्दै आएको बताएका छन् ।
जिम्मेवार पत्रकारले आचारसंहिताविपरीत बिना आधार र प्रमाण कसैका बारेमा समाचार सम्प्रेषण नगर्ने भन्दै वक्तव्यमा सुन काण्ड, नक्कली शरणार्थी प्रकरण तथा सहकारी काण्डलगायत घटनामा सत्यतथ्य उजागर गर्न पत्रकारहरूले निर्वाह गरेको भूमिकाको समेत चर्चा गरिएको छ । गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्तिबाट पत्रकारहरू हतोत्साही नहुने उनीहरूको विश्वास छ ।
वक्तव्यमा सबै सञ्चारकर्मीलाई समाचार सम्प्रेषणको आफ्नो दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न आह्वान गर्दै गृहमन्त्री गुरुङलाई पत्रकार लक्षित धम्कीपूर्ण शब्द फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्न आग्रह गरिएको छ ।
गृहमन्त्री सुधन गुरुङले २०८३ भदौ २३ गते जेनजी शहीद स्मृति कार्यक्रममा “३/४ जना, २/३ जना” पत्रकारलाई लक्षित गर्दै “तपाईंहरूको पार्टीसहित तपाईंहरू पनि सुध्रिनुस्” भन्नुभएको थियो । (फोटोः एआइ जेनेरेटेड)