पोखरा । पोखरा महानगरपालिका–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा हिमालयन आँखा अस्पताल, पोखराको आयोजनामा एकदिने नि:शुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।
उक्त शिविरबाट १ सय ९७ जना विद्यार्थी तथा स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन्।
कार्यक्रमको उद्घाटन गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले विपन्न बस्तीमा रहेका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको यो सेवा अवसरप्रद र प्रेरणादायी रहेको बताउनु भयो ।
उहाँले भविष्यमा पनि विद्यालयको सिफारिसका आधारमा उपचारमा सहुलियत दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
थापामगरले भारतको राजधानी दिल्लीको एक विपन्न बस्तीबाट पनि डाक्टर र इन्जिनियर उत्पादन हुँदै आएको उदाहरण दिँदै, विपन्न क्षेत्रका बालबालिकामा अपार सम्भावना रहेको उल्लेख गर्नु भयो ।
उहाँले सहारा विद्यालयमा विद्यार्थी सङ्ख्या र शैक्षिक उपलब्धि सन्तोषजनक रहेकोमा प्रसन्नता व्यक्त गर्नु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले आँखा परीक्षणसँगै आवश्यक विद्यार्थीलाई नि:शुल्क चस्मा वितरण गरिएको जानकारी दिँदै, कार्यक्रम सफल बनाउन विशेष भूमिका निर्वाह गरेका डा. मनेन प्रसाद गोर्खाली र हिमालयन आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गर्नु भयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, जनप्रतिनिधि नन्दराम गिरी लगायतले शिक्षा र स्वास्थ्य एक-अर्काका पूरक भएको उल्लेख गर्दै स्वस्थ्य दृष्टि भएको विद्यार्थीको सिकाइ क्षमता उच्च हुनेमा जोड दिनु भयो ।
शिविरमा विद्यालयका सल्लाहकार, व्यवस्थापन समिति सदस्य, सहारा क्लबका पदाधिकारी, टोल विकास संस्था, आमा समूहका प्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तव्य दिँदै विद्यालयमा यस्तो सेवा उपलब्ध गराएकोमा हिमालयन आँखा अस्पतालप्रति कृतज्ञता व्यक्त गर्नु भयो । कार्यक्रमको सञ्चालन शिक्षक सुदिप कोइरालाले गर्नु भएको थियो ।