मानव आवाज

२०८३ भाद्र ७ गते
00: 00: 00
२०८३ भाद्र ७ गते

पुम्दीभुम्दी पर्वतीय दौडको तयारीस्वरूप हाइकिङ

पोखरा । “प्रकृतिसँग पाइला, पर्यटन प्रवद्र्धनमा हातेमालो गरौँ” र “हिँडौँ पुम्दीभुम्दी, चिनाऔँ पोखराको नयाँ गन्तव्य” भन्ने नारासहित तेस्रो पुम्दीभुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको पूर्वतयारीस्वरूप हाइकिङ कार्यक्रम आयोजना गरिएको छ ।

पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा २०८३ भदौ ६ गते पोखरा महानगरपालिका-१७ ड्यामसाइडस्थित माछापुच्छ्रे प्रतिबिम्ब पार्कदेखि रानीवन हुँदै पोखरा-२२ पुम्दीकोटस्थित विशाल महादेवको मूर्तिसम्म र त्यहाँबाट ड्रिम सिटी पार्कसम्म करिब ८ किलोमिटर हाइकिङ गरिएको हो ।

हाइकिङ कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका-१७ की वडाध्यक्ष राधिकाकुमारी शाही र गण्डकी प्रदेश सरकारका पूर्वअर्थमन्त्री रामजीप्रसाद बरालले संयुक्त रूपमा गर्नुभएको थियो ।

कार्यक्रम संयोजक तथा पोखरा प्रवर्धन केन्द्रका अध्यक्ष दिननाथ बरालले २०८३ असोज १० गते आयोजना हुने तेस्रो पुम्दीभुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तथा पुम्दीभुम्दी क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हाइकिङ आयोजना गरिएको बताउनुभयो ।

बरालका अनुसार प्रतियोगितामा खुलातर्फसहित विभिन्न ६ ‌ओटा विधामा प्रतिस्पर्धा हुनेछ । पुम्दीभुम्दी क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यलाई जोड्दै विश्वशान्ति स्तूपबाट सुरु हुने मुख्य दौड विशाल महादेवको मूर्ति, पोखरा-२२ को वडा कार्यालय हुँदै कालाबाङ न्यालडाँडास्थित नवनिर्मित कालाबाङ घरेडी बुद्धपार्कसम्म करिब ८ किलोमिटर दूरीमा सञ्चालन हुनेछ ।

कार्यक्रममा पोखरा महानगरपालिका-२२ का वडाध्यक्ष हिमलाल बरालले पुम्दीभुम्दी क्षेत्रको पर्यटन विकास तथा पर्वतीय दौड प्रतियोगितालाई वडाले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो ।

उहाँले ड्यामसाइडदेखि रानीवन हुँदै पुम्दीकोटसम्म व्यवस्थित पैदलमार्ग निर्माणको काम अघि बढिरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पैदलमार्ग निर्माणको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा पैदलमार्गसँगै विभिन्न स्थानमा प्रतीक्षालय, रेलिङलगायतका भौतिक संरचना निर्माण गरिनेछ ।

ड्यामसाइडदेखि ‘८५’ क्षेत्रसम्म करिब २७ किलोमिटर फुटट्र्याक निर्माण गर्ने योजनाअन्तर्गत हालसम्म करिब सात किलोमिटर पदमार्ग निर्माण भइसकेको र बाँकी २० किलोमिटर क्षेत्रमा काम गर्न बाँकी रहेको वडाध्यक्ष बरालले जानकारी दिनुभयो ।

गत वर्ष पदमार्ग निर्माणका लागि ३ करोड रुपियाँ बजेट विनियोजन भए पनि सङ्घीय सरकार निर्वाचन प्रक्रियामा रहेकाले प्राविधिक समस्याका कारण बजेट खर्च हुन नसकेको उहाँले बताउनुभयो ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टङ्कप्रसाद ढकालले खेल पर्यटनले पर्यटकको पोखरा बसाइ अवधि लम्ब्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

पर्वतीय दौड प्रतियोगितालाई मन्त्रालयले विगतदेखि नै सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराका अधिकांश डाँडाकाँडा आफैंमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र भएको बताउँदै गाउँ पर्यटनको विकासका लागि पदयात्रा र पर्वतीय दौडजस्ता गतिविधि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यक्रम अधिकृत युवराज गुरुङले आगामी दिनमा टुक्रे योजना र भौतिक पूर्वाधार निर्माणभन्दा प्रभाव देखिने कार्यक्रम तथा पर्यटन प्रवर्धनमा जोड दिने बोर्डको नीति रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेलले पर्वतीय दौडले पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

पुम्दीकोट कोट विकास समितिका कोषाध्यक्ष चण्डिका बरालले प्रतियोगितालाई आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ड्रिम सिटीका सञ्चालक युवा व्यवसायी राजु बरालले आफूहरूले करिब ३० जनालाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै पुम्दीकोट आउने पर्यटकलाई थप केही घण्टा सो क्षेत्रमा रोक्ने वातावरण निर्माण गर्न आफूहरू सफल भएको बताउनुभयो ।

उहाँका अनुसार विभिन्न आकर्षण अवलोकनका लागि प्रतिव्यक्ति ३ सय ५० रुपियाँ शुल्क लिने गरिएको छ ।

पोखरा प्रवर्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले प्राकृतिक सम्पदामा मात्र निर्भर भएर पर्यटन व्यवस्थापन गर्न कठिन हुने भएकाले मानव निर्मित पर्यटकीय गन्तव्यसँगै हाइकिङ तथा पदमार्गलाई व्यवस्थित र दिगो रूपमा संरक्षण गर्नुपर्ने बताउनुभयो ।

उहाँले पुम्दीभुम्दी क्षेत्रलाई धार्मिक पर्यटनसँगै गाउँ पर्यटन, पदयात्रा, खेल पर्यटन र मनोरञ्जनको वैकल्पिक गन्तव्यका रूपमा विकास गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

हाइकिङका क्रममा सहभागीले पुम्दीकोटस्थित ५१ फिट अग्लो विशाल महादेवको मूर्ति तथा पछिल्लो समय सञ्चालनमा आएको ड्रिम सिटीको अवलोकन गरेका थिए ।

पोखरा-२२ पुम्दीकोटमा करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको ड्रिम सिटीमा अम्ब्रेला पार्क, हट एयर बलुन फोटो बुथ, ग्लास स्काईवाक, पिङ, स्विङ तथा रेष्टुरेन्टलगायतका संरचना रहेका छन् ।

यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि हिमाल, फेवाताल, विश्वशान्ति स्तूप तथा कालाबाङ घरेडी बुद्धपार्कलगायतका दृश्य अवलोकन गर्न सकिन्छ ।

पोखरा प्रवद्र्धन केन्द्रका सचिव सागर सुनारले गत वर्षको प्रतियोगितामा सात देशका १६७ जना धावक सहभागी भएको जानकारी दिँदै यस वर्ष पनि स्वदेश तथा विदेशका धावकलाई सहभागी गराउने तयारी भइरहेको बताउनुभयो।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, होटल सङ्घ पोखराका लक्ष्मण सुवेदी तथा पोखरा भ्रमण वर्षका निवर्तमान संयोजक गोपीबहादुर भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

हाइकिङ कार्यक्रम सफल बनाउन ड्रिम सिटी र नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए) गण्डकी प्रदेशले सहयोग गरेका थिए।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार