सिन्धुली । सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले असोज ९ गतेदेखि ११ गतेसम्म देशभर वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको जनाएको छ ।
सो अवधिमा सिन्धुलीका केही तथा अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने प्रशासनको सूचनामा उल्लेख छ ।
भारी वर्षाका कारण जिल्लाका ठूला तथा साना नदी, खोला र खोल्सामा पानीको सतह बढ्न सक्ने भएकाले नदी तथा खोला किनार, पहिरोको उच्च जोखिम भएका क्षेत्र, भिरालो जमिन तथा डुबान सम्भावित स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।
प्रशासनका अनुसार निरन्तर वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने र नदी, खोला तथा खोल्सामा पानीको बहाव बढेर जनजीवन प्रभावित हुन सक्ने सम्भावना छ ।
जोखिमका सङ्केत देखिएमा समयमै सुरक्षित स्थानमा जान तथा आवश्यक सहयोगका लागि स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न प्रशासनले अनुरोध गरेको छ ।
त्यस्तै, अत्यावश्यक कामबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्थाबारे जानकारी लिन प्रशासनले आग्रह गरेको छ ।
पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजातलगायत आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न तथा नेपाल मौसम विज्ञान विभाग, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने आधिकारिक सूचना नियमित रूपमा लिन प्रशासनले आग्रह गरेको छ ।
सम्भावित विपद्को अवस्थामा वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल नेपाल १११४ तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।