पोखरा । “स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको संयुक्त प्रयास” भन्ने नारासहित २०८० सालमा स्थापना भएको पोखरा महानगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका सञ्जाल कास्की तेस्रो वर्षमा प्रवेश गरेको छ ।
सञ्जालको दोस्रो वार्षिक साधारणसभा २०८२ माघ १६ गते पोखरा महानगरपालिका–८, नयाँ बजारस्थित स्वास्थ्य प्रवर्धन केन्द्रमा सम्पन्न भएको हो ।
साधारणसभाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गर्नु भयो ।
उद्घाटन मन्तव्यका क्रममा उहाँले महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरूले दिनरात नभनी समुदायस्तरमा पुर्याउँदै आएको सेवाको प्रशंसा गर्नु भयो ।
गर्भवती, सुत्केरी, नवजात शिशु तथा विभिन्न खोप अभियानलाई घर–घरमा पुगेर प्रभावकारी बनाएको भन्दै उहाँले स्वयम्सेविकाहरूको भूमिकालाई स्वास्थ्य प्रणालीको मेरुदण्डका रूपमा उल्लेख गर्नु भयो ।

प्रमुख आचार्यले समयानुकूल ज्ञान, सीप र प्रविधिमा स्वयम्सेविकाहरू परिस्कृत हुँदै जानुपर्नेमा जोड दिनु भयो ।
साथै ६० वर्ष उमेर पूरा गरी सेवा निवृत्त भएका स्वास्थ्य स्वयम्सेविकालाई महानगरपालिकाले ५० हजार रुपियाँ टोकन मनीसहित सम्मानपूर्वक विदाइ गरिएको, स्वास्थ्य बीमालाई सङ्घ र महानगरको साझेदारीमा १०० प्रतिशत निःशुल्क बनाइएको तथा स्वयम्सेविकाका लागि थप सेवा सुविधा उपलब्ध गराउँदै लगिएको जानकारी दिनु भयो ।
उहाँले सहरी सौन्दर्यीकरण र वातावरणीय स्वच्छताका लागि सडक तथा सार्वजनिक स्थलमा फोहोर फ्याँक्नेलाई जरिबाना गर्ने नीति कडाइका साथ लागू गरिने बताउँदै यसमा महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका, नागरिक समाज, महानगरको सरसफाइ शाखा र नगर प्रहरीको सहकार्य रहने स्पष्ट पार्नु भयो ।
साधारणसभामा सञ्जालकी अध्यक्ष भिमा पौडेलले २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा २०८२/०८३ को प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नु भयो ।
सचिव सङ्गिता बरालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रमा सिकेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकोमा छलफलपछि पारित गरिएको सचिव बरालले जानकारी दिनु भयो ।

सभामा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने आठ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमा सन्ध्या तिमिल्सिना गौतम, सीता पराजुली, गीता शर्मा, नारायणी सुवेदी, रिता रानाभाट, रमा सिके, शोभा पहारी, सावित्री पौडेल ढुङ्गाना तथा ६० वर्ष उमेर पूरा गरी अवकाश प्राप्त वडा नं. १५ की स्वास्थ्य स्वयम्सेविका गीता भण्डारी रहनुभएको छ ।
अध्यक्ष भिमा पौडेलले सञ्जालमार्फत गर्भवती, सुत्केरी, नवजात शिशु, खोप अभियान, व्यक्तिगत सरसफाइ, फोहोर व्यवस्थापनलगायत क्षेत्रमा स्थानीय सरकार र सरोकारवालासँग सहकार्य गर्दै काम भइरहेको बताउनु भयो ।
३६५ दिन निरन्तर सेवा प्रवाहका क्रममा विभिन्न चुनौती सामना गर्नुपरे पनि स्वयम्सेविकाहरू जिम्मेवारीपूर्वक सक्रिय रहेको उहाँको भनाइ थियो ।
सञ्जालका भावी योजनाअन्तर्गत संस्थागत सुदृढीकरण, क्षमता अभिवृद्धि तथा तालिम, समुदायस्तरीय स्वास्थ्य र फोहोर सचेतना कार्यक्रम, स्थानीय सरकार तथा गैरसरकारी संस्थासँग समन्वय, महिला स्वास्थ्य स्वयम्सेविकाको सम्मान कार्यक्रम, आर्थिक स्रोत व्यवस्थापन, सूचना अभिलेख व्यवस्थापन तथा महिला, बालबालिका, किशोरी र ज्येष्ठ नागरिकमैत्री कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।
कार्यक्रममा पोखरा महानगरपालिका–८ का अध्यक्ष रुद्रनाथ बराल, वडा नं. ७ का अध्यक्ष राममोहन आचार्य, वडा नं. २५ का कार्यवाहक अध्यक्ष सुवास भण्डारी, खोप फोकल पर्सन तेजाखर लम्साल, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र पोखरा-८,इन्चार्ज सुनिता गिरी र शहरी स्वास्थ केन्द्र पोखरा -६ का इन्चार्ज दिपेन्द्रकुमार रेग्मी, वडा नं. ३१ की वडा सदस्य धनादेवी तिवारी, महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।
सञ्जालकी अध्यक्ष भिमा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष गीता भण्डारी भट्टराईले राख्नुभएको थियो भने सञ्चालन सचिव सङ्गिता बरालले गर्नुभएको थियो ।