उनलाई कालो रङ खुब मन पर्छ
कालो भनेको विरोधको प्रतीक
कालो भनेको रहस्यमयता ।
उनलाई रातको अँध्यारो मात्रै मन पर्छ
किनकि राति घाम हुँदैन कालो मात्रै हुन्छ ।
कालो अँध्यारो पनि हो
कालो, कालो मात्रै होइन
शोकको प्रतीक पनि हो ।
उबेला शिरमा कालै कफन बाँधेर
होमिएका हुन् निर्वाचनमा ।
अरू सबैका काला कर्तुत
निकाल्छु भनी कसम खाएका हुन् ।
आफू कालोबाहेक सबै काम गर्छु
उनको उँचो प्रतिबद्धता थियो ।
तर, अहिले उनको कालो काम छ
उनका गतिविधि कालैकालोमा छ ।
उनी अहिले कालो सिसा भएको गाडीमा
कालै चस्मा र कालै पोसाकमा यात्रा गर्छन् ।
उनलाई कालो असाध्यै मन पर्छ
कालो भनेको अङ्गार हो ।
कालो,
कालो भनेको खरानी पनि हो ।
कालै मनपर्ने भएर रातो साइरनवाला दमकल
आगलागी नियन्त्रणमा खटाएनन् ।
जबसम्म सिंहदरबार जलेर कालो भएन
तबसम्म त्यहाँको अवरोध हटाएनन् ।
कालो गाडीबाट कालै गर्जन सुनाउँछन्
कालो पदार्थको नशामा कालै काममा रम्छन् ।
त्यही भएर उनलाई कालो मन पर्छ
कालो पदार्थको नशामा कालो रात्रीमा
उफ्रीपाफ्री गर्नुको मजा उनलाई मात्रै छ ।
कालो सम्बन्ध कालो गर्जन्
कालरात्रि जत्तिकै हुन्
कालो खाएर कालै पठाउनेहरू
कालो कर्तुतमै रम्छन् ।
उनीहरूलाई उज्यालो देख्यो कि
कालो बनाउँबनाउँ लाग्छ ।
अरूको उज्यालोमा पनि पसेर
कालै बनाऊँ बनाऊँ लाग्छ ।
महोदय,
यति बुझेपछि त पन्छाऊँ कालो
तपाईं हामी मिलेर ल्याऊँ उज्यालो ।
२०८२ असोज २६ गते
