मानव आवाज

२०८३ असार ६ गते
00: 00: 00
२०८३ असार ६ गते

हरिहरपुरगढी गाउँपालिकाको प्राथमिकता कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारमा

सिन्धुली । “समृद्ध हरिहरपुरगढी गाउँपालिकाको आधारः शिक्षा, स्वास्थ्य, कृषि, वन, पर्यटन र पूर्वाधार” भन्ने नारासहित प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको छ ।

“जहाँ उत्पादन, त्यहाँ अनुदान” भन्ने अवधारणाअनुसार कृषि उत्पादन वृद्धि तथा दिगोपनाका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई व्यापक रूपमा सञ्चालन गरिने नीति लिइएको छ। साथै गाँजा खेतीको सम्भावनाबारे कानुनी अध्ययन गरिने, “मेक इन हरिहरपुरगढी, मेड इन हरिहरपुरगढी” अभियानमार्फत स्थानीय उत्पादनको विकास, विस्तार र प्रवर्धन गरिने उल्लेख गरिएको छ ।

हरिहरपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७२ करोड ३१ लाख ५६ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको २३औँ गाउँसभा २०८३ असार ५ गते गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । सभामा गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष चेखबहादुर थिङले बजेट प्रस्तुत गर्नुभएको थियो ।

उपाध्यक्ष थिङका अनुसार आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये वडागत कार्यक्रमका लागि ४ करोड रुपियाँ, कार्यालय प्रशासन तथा प्रशासनिक खर्चतर्फ १५ करोड ६२ लाख ८४ हजार रुपियाँ, सशर्त अनुदान चालुतर्फ २१ करोड ७४ लाख २५ हजार रुपियाँ तथा सशर्त अनुदान पुँजीगततर्फ ७ करोड ३४ लाख रुपियाँ विनियोजन गरिएको छ ।

त्यसैगरी वार्षिक विकास कार्यक्रमका लागि २ करोड ११ लाख रुपियाँ, पूर्वाधार विकासतर्फ १७ करोड ३४ लाख २८ हजार ७ सय रुपियाँ, सामाजिक विकासतर्फ ३३ करोड ६० लाख ४६ हजार ३ सय रुपियाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ४० लाख रुपियाँ, राष्ट्रिय रोजगार कार्यक्रमका लागि ४९ लाख ९७ हजार रुपियाँ, प्रकोप व्यवस्थापनका लागि १० लाख रुपियाँ तथा गत आर्थिक वर्षको भुक्तानी दायित्वका लागि २ करोड ६३ लाख रुपियाँ छुट्याइएको छ ।

वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष एवम् गाउँसभाका सभाध्यक्ष बज्रध्वज वाइबाले स्थानीय तहको दोस्रो निर्वाचनपश्चात् कार्यकाल सुरु भएको चार वर्ष पूरा भएको उल्लेख गर्दै यस अवधिमा गाउँपालिकाले गरेका कार्यहरूको मूल्याङ्कन गर्ने जिम्मेवारी आम नागरिकलाई नै रहेको बताउनुभयो ।

शिक्षा क्षेत्रतर्फ सबै विद्यालयमा कक्षा ७ देखि प्रत्येक शुक्रबार हाफ टाइमपछि “बुक–फ्री डे” लागू गरी हाजिरीजबाफ, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीलाई सीपसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

स्वास्थ्य क्षेत्रतर्फ “हरिहरपुरगढी सुन्दर, सफा गाउँ बन्दैछ; बाआमालाई सन्चै छ” भन्ने नारासहित नसर्ने रोगहरू-विशेषगरी मुटु तथा रक्तनलीसम्बन्धी रोग, दम, उच्च रक्तचाप, मधुमेह, क्यान्सर तथा मिर्गौला रोगको रोकथाम, समयमै पहिचान र उपचारका लागि टोलटोलमा स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिसहित एकीकृत घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिने जनाइएको छ ।

त्यसैगरी आगामी आर्थिक वर्षलाई “पूर्ण खानेपानी पहुँच वर्ष” का रूपमा कार्यान्वयन गर्दै गाउँपालिकाभित्र रहेका खानेपानीका समस्या समाधान गर्ने लक्ष्य राखिएको अध्यक्ष वाइबाले बताउनुभयो ।

गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले स्थानीय सरकारको दोस्रो कार्यकाल पाँचौँ वर्षमा प्रवेश गरिसकेको उल्लेख गर्दै विगत चार वर्ष केवल समयको गणना नभई अनुभव, सिकाइ, उपलब्धि र आत्ममूल्याङ्कनको अवधि भएको बताउनुभयो ।

उहाँले विभिन्न चुनौतीका बाबजुद शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सेवा प्रवाहलगायत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताउँदै ती उपलब्धि सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्नुभयो ।

आगामी दिनमा विकासको गतिलाई निरन्तरता दिन सबै पक्षको साथ, सहयोग र सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो ।

न्यौपानेले शान्ति, विकास, मानव अधिकार तथा जनताको प्रत्याभूतिका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै गाउँपालिकाका नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न पालिका निरन्तर सक्रिय रहेको जानकारी दिनुभयो ।

जनताको आवश्यकता र चाहनाअनुसार अधुरा रहेका योजनालाई प्राथमिकताका साथ अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Author

Share the News

Recent News

Related News