मानव आवाज

२०८३ असार १९ गते
00: 00: 00
२०८३ असार १९ गते

डेढगाउँ माविमा अत्याधुनिक सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला हस्तान्तरण

पोखरा । ग्रामीण शिक्षामा डिजिटल रूपान्तरणको नयाँ अध्याय स्वरूप नवलपरासी (बर्दघाट सुस्ता पूर्व जिल्ला) बौदीकाली गाउँपालिका–२ स्थित श्री डेढगाउँ माध्यमिक विद्यालयमा अत्याधुनिक सूचना तथा सञ्चार प्रविधि प्रयोगशालाको औपचारिक उद्घाटन तथा हस्तान्तरण कार्यक्रम २०८३ असार १८ गते सम्पन्न भएको छ ।

बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले सूचना तथा सञ्चार प्रविधि प्रयोगशालाको ब्यानर अनावरण, हस्ताक्षर, शिलालेख अनावरण तथा रिबन काटेर प्रयोगशालाको औपचारिक उद्घाटन गर्नु भएको थियो ।

अध्यक्ष ओझाले बौदीकाली गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर निरन्तर लगानी गरिरहेको उल्लेख गर्दै भन्नुभयो, “आजभन्दा करिब २५ वर्षअघि हामी माध्यमिक तहमा पढ्दा पहिलो पटक कम्प्युटरको मोनिटर छोएका थियौँ । आज तपाईंहरूको औँला सहज रूपमा किबोर्डमा चलिरहेको देख्दा भविष्यप्रति ठूलो आशा जागेको छ । यी कम्प्युटरभित्र एउटा संसार अटाएको छ । त्यस संसारलाई खोज्नुहोस्, सिक्नुहोस् र आफ्नो भविष्य आफैँ निर्माण गर्नुहोस् ।”

उहाँले बौदीकालीजस्ता दुर्गम गाउँका विद्यालयमा समेत शहरी विद्यालयसरहको डिजिटल पूर्वाधार पुगेकाले अब गुणस्तरीय शिक्षा लिनका लागि पोखरा वा काठमाडौं धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

भविष्यमा यही विद्यालयका विद्यार्थीहरूले समाजको नेतृत्व गर्ने अपेक्षा व्यक्त गर्दै सकारात्मक सोच, असल संस्कार र स्वस्थ संवादको संस्कृति विकास गर्न, पढाइलाई निरन्तरता दिन तथा ज्ञानसँगै मानवीय मूल्यहरूको विकास गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा एडुटेक नेपालका पश्चिमक्षेत्र प्रमुख आकाशकुमार दासले यस परियोजनामा सहयोग गर्ने सबै साझेदार संस्था तथा बौदीकाली गाउँपालिकाप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले एडुटेक नेपालका संस्थापक माइक चिजोल्म र चेरिल चिजोल्म सन् १९८४ देखि नेपालसँग जोडिँदै आएको स्मरण गर्दै नेपाल र न्यूजिल्याण्डबिचको जनस्तरको मित्रताको निरन्तरता स्वरूप देशभर सूचना तथा सञ्चार प्रविधि शिक्षा विस्तार भइरहेको बताउनुभयो ।

कर्मफ्लाइट्स फाउण्डेशन नेपालका निर्देशक प्रेमबहादुर कुँवरका अनुसार प्रयोगशाला स्थापना गर्न कर्मफ्लाइट्स फाउण्डेशन नेपाल र एडुटेक नेपालले संयुक्त रूपमा करिब रू ८ लाख ५० हजार बराबरको सहयोग गरेको बताउनु भयो ।

विद्यालय तथा बौदीकाली गाउँपालिकाले करिब रू ४ लाख बराबरको समानीकरण लगानी गरेका छन् ।

कार्यकारी निर्देशक कुँवरका अनुसार वार्म नेस्ट फाउण्डेशन (नेदरल्याण्ड्स) र एडुटेक नेपालको सहयोगबिना यो पहल सम्भव नहुने उल्लेख गर्दै विद्यार्थी, शिक्षक तथा समुदायलाई प्रयोगशालाको अधिकतम सदुपयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले विद्यार्थीहरूलाई प्रेरित गर्दै भन्नुभयो, “किबोर्डका अक्षरहरू तपाईंहरूको औँलाले घोटिएर मेटिए पनि चिन्ता नगर्नुहोस्, बरु तपाईंहरू उत्कृष्ट औँलाका शिल्पी बन्नुहोस् । यो प्रयोगशाला संसारलाई हेर्ने एउटा झ्याल मात्र होइन, तपाईंहरूको ज्ञानचक्षु बनोस् ।”

गाउँपालिका शिक्षा समितिका अध्यक्ष होमनाथ भट्टराईले शिक्षक तालिमका क्रममा कर्माफ्लाइट्ससँगको लामो सहकार्यबाट विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापना गर्ने सपना साकार भएको उल्लेख गर्दै विद्यालयले गर्मी बिदाको समयमा समेत कम्प्युटरको प्रयोगात्मक कक्षा सञ्चालन गरिने बताउनुभयो ।

प्रयोगशालाको अवलोकनका क्रममा कर्माफ्लाइट्स फाउण्डेशन नेपालका आईटी अधिकृत सुभाष पौडेलले थिन क्लाइन्ट आर्किटेक्चरमा आधारित २१ कार्यस्थलयुक्त प्रयोगशालाको संरचना, सञ्चालन प्रणाली, डिजिटल पुस्तकालय, शिक्षक तथा विद्यार्थी स्रोत केन्द्रका रूपमा यसको उपयोगिता तथा डिजिटल शिक्षण–सिकाइमा यसले पुर्‍याउने योगदानबारे प्रत्यक्ष प्रदर्शन (डेमो) प्रस्तुत गर्नु भयो।

उहाँले निकट भविष्यमा विकास भइरहेको एडुटेक लर्न एपले कम्प्युटर शिक्षालाई अझ प्रभावकारी बनाउने जानकारी दिनुभयो ।

कक्षा १२ पछि नेपालमै सूचना प्रविधि विषय अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि सञ्चालन भइरहेको छात्रवृत्ति कार्यक्रमको उल्लेख गर्दै उहाँले त्यसका लागि योग्य र सक्षम बन्न विद्यार्थीहरूलाई अध्ययनमा निरन्तर मेहनत गर्न प्रेरित गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बलप्रसाद थाडाले आफ्नो कार्यकालमा सुरु गरिएको यो सपना पूरा भएकोमा गर्व व्यक्त गर्दै आफूहरूको पुस्ताले हातमा घडी र कानमा रेडियोसमेत नदेखेको समयबाट आज विद्यालयमै सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापना हुनुलाई ऐतिहासिक उपलब्धि भएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं २ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठले सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापना गर्न सहयोग गर्ने सबै साझेदार संस्था तथा गाउँपालिकाप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँका अनुसार विद्यालयमा सञ्चालन भइरहेको “क्लब १००” अभियानअन्तर्गत अभिभावकहरूको मासिक योगदानबाट सबै विद्यार्थीलाई दुर्घटना बीमामा आबद्ध गरिएको जानकारी दिनुभयो ।

यस योजनाअन्तर्गत प्रत्येक विद्यार्थीलाई रु. २ लाखसम्मको दुर्घटना बीमा, रु. ५० हजारसम्मको अस्पताल उपचार खर्च तथा मृत्युको अवस्थामा रु. १ लाख राहत उपलब्ध हुने व्यवस्था गरिएको उहाँले बताउनु भयो ।

कर्माफ्लाइट्स फाउण्डेशन नेपालको टोलीले बौदीकाली गाउँपालिकाका अध्यक्षसँग भेटघाट गरी शिक्षा क्षेत्रका प्राथमिकता, शिक्षक तालिम, सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला विस्तार, डिजिटल साक्षरता कार्यक्रम तथा आगामी सहकार्यका सम्भावित क्षेत्रबारे विस्तृत छलफल गरेको थियो।

कार्यक्रमका सहभागीहरूले ग्रामीण विद्यालयमा आधुनिक सूचना तथा सञ्चार प्रविधिमा आधारित सिकाइ वातावरण निर्माण गर्ने यस पहलले बौदीकालीका विद्यार्थीहरूलाई डिजिटल युगसँग जोड्दै गुणस्तरीय शिक्षामा पहुँच विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।

साझेदारी, स्थानीय प्रतिबद्धता र अन्तर्राष्ट्रिय मित्रताको उदाहरण बनेको यो सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला आगामी पुस्ताका लागि ज्ञान, सीप र अवसरको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गङ्गा विश्वकर्माले स्वागत मन्तव्य राख्नुहुँदै हाल नर्सरीदेखि कक्षा १२ सम्म करिब ४ सय ५० विद्यार्थी अध्ययनरत रहेको विद्यालयले कक्षा १२ को परीक्षामा ९६ प्रतिशत उत्तीर्ण दर हासिल गर्दै उत्कृष्ट नतिजा कायम राख्न सफल भएको बताउनु भयो ।

कार्यक्रममा विद्यार्थीहरूले नेपालको सांस्कृतिक तथा भौगोलिक विविधतालाई झल्काउने आकर्षक स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

सोही क्रममा प्रयोगशालाको अवलोकन गर्दै प्रयोगशालाभित्र कक्षा ६ देखि १२ सम्मका प्रतिनिधि विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरिएको थियो ।

साथै प्रयोगशाला सञ्चालनमा आएपछि आफूहरू थप सिक्न उत्साहित भएको विद्यार्थीहरूले बताएका छन् ।

कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

Author

Share the News

Recent News

Related News