ललितपुर । ग्वार्कोमा निर्माण भइरहेको ओभरपास (फ्लाइओभर) अन्तिम चरणमा पुगेको छ। भौतिक संरचना निर्माण कार्य सम्पन्न भइसकेको छ भने हाल कालोपत्रे (पिच) लगायतका अन्तिम कामहरू बाँकी रहेका छन् ।
निर्माण कम्पनीले वर्षा नपरेको खण्डमा जेठ महिनाभित्रै सवारी सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।
२०७८ फागुन १२ गते सुरु भएको ग्वार्को ओभरपासको निर्माण कार्य २०८० फागुन ११ गतेसम्म सम्पन्न गर्ने लक्ष्य थियो ।
तर, विभिन्न प्राविधिक समस्याहरू र डिजाइन परिवर्तनका कारण म्याद पटकपटक थपिँदा पनि काम समयमा सम्पन्न हुन सकेन ।
हालसम्म भौतिक संरचना निर्माण कार्य सम्पन्न भइसकेको छ भने कालोपत्रे, रोडमार्किङ, ट्राफिक चिन्ह, लाइट जडान, रेलिङ, पेभमेन्ट र रङरोगन जस्ता कामहरू बाँकी रहेका छन् ।
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर प्रदीप भण्डारीका अनुसार हालको मौसमले कालोपत्रे कार्यमा चुनौती उत्पन्न गरेको छ ।
पानी परेमा पिच सुक्न नसक्ने भएकाले काम अघि बढाउन समस्या भइरहेको उहाँले बताउनु भएको छ। सानो पानीले खासै असर नपरे पनि ठूलो वर्षाले कार्यमा ढिलाइ हुन सक्ने उहाँको भनाइ छ ।
निर्माण कार्य समयमा सम्पन्न नभएकाले निर्माण कम्पनीले पुस ९ गतेदेखि दैनिक ८५ हजार रुपियाँ बराबरको हर्जाना तिर्दै काम अघि बढाइरहेको छ ।
यस हिसाबले कुल लागतको १० प्रतिशत अर्थात् करिब १ करोड ७० लाख रुपियाँ बराबरको हर्जाना निर्माण कम्पनीले तिर्नुपर्ने देखिएको छ ।
ग्वार्को ओभरपासको निर्माण कार्य लामो समयदेखि ढिलाइ हुँदा स्थानीय बासिन्दा र सवारी चालकहरूलाई असहज भएको छ ।
निर्माण कार्य सम्पन्न भई सवारी सञ्चालनमा आएपछि ट्राफिक जाम कम हुने र यात्रुहरूलाई सहजता हुने अपेक्षा गरिएको छ ।
तर, निर्माण कार्यमा देखिएको ढिलाइ र हर्जानाले सरकारी आयोजना व्यवस्थापनमा सुधार आवश्यक रहेको सङ्केत गर्दछ।