ललितपुर । गीतकार देवी पराजुलीको नयाँ गीत ‘गुञ्जियोस शान्ति धुन’ औपचारिक रूपमा विमोचन गरिएको छ ।
ललितपुरको सुप्रसिद्ध माझखण्डस्थित माझखण्ड बुद्ध विहार र आसपासमा छायाङ्कन गरिएको यो गीत विश्वशान्तिको भाव बोकेको साङ्गीतिक कृति मानिएको छ ।
यहाँ हाल अत्याधुनिक केबलकार निर्माण कार्य थालिएको छ, जसले यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
विश्व शान्ति विहार, आलोकनगरमा आयोजित गीत सार्वजनिक कार्यक्रममा गीतलाई गायक आनन्द कार्की, संगीतकार अर्जुन नेपाली, र गीतकार पराजुलीको संयुक्त प्रयासमा तयार गरिएको हो ।
कार्यक्रममा बोल्दै गीतकार देवी पराजुलीले माझखण्डलाई “स्वर्गको टुक्रा” भन्दै त्यहीँका प्राकृतिक सुन्दरता र आध्यात्मिक उर्जाले गीतको छायाङ्कनलाई विशेष बनाएको बताउनु भयो ।
त्यसैगरी गायक आनन्द कार्कीले उत्कृष्ट शब्दरचना र पुण्यभूमि माझखण्डमा गरिएको छायाङ्कनले गीतलाई अझ सशक्त बनाएको धारणा राख्नु भयो ।

डेष्टिनेशन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले गीत निर्माण प्रक्रियाको सार बयान गर्दै भन्नु भयो-“गीतकारले अस्थिपञ्जर बनाउँछन्, सङ्गीतकारले मांशपेशी थप्छन्, गायकले प्राण भर्छन् । विभिन्न विषयवस्तुको संयोजनले गीत सुन्दर बनाउँछ ।”
बागमती गाउँपालिका–५ का अध्यक्ष नवराज तिमल्सिनाले माझखण्ड क्षेत्रको विकासका लागि गाउँपालिका र वडा दुवै तर्फबाट कुनै कसर बाँकी नराखिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

बोधिज्ञान महास्थवीर भन्तेले माझखण्डलाई विशेष ऊर्जा प्राप्त हुने स्थानका रूपमा व्याख्या गर्दै यहाँ ध्यान-अभ्यास अत्यन्त उपयुक्त हुने बताउनु भयो ।
साङ्गीतिक, आध्यात्मिक र पर्यटन प्रचारका दृष्टिले महत्वपूर्ण मानिएको ‘गुञ्जियोस शान्ति धुन’ गीतले माझखण्डको पहिचानलाई अझ व्यापक बनाउने अपेक्षा गरिएको छ ।