काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि २०८२ पुस २ गते सर्वोच्च अदालतले पेसी तोकेको छ ।
दुई वर्षअघि युवराज पौडेल (सफल)ले दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो, जसले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग अघि सार्नु भएको छ ।
पौडेलले महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने गरेको निर्णय कानुनविपरीत रहेको दाबी गर्दै रिट दायर गर्नु भएको थियो ।
२०७९ चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो ।
त्यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले पनि राहदानी प्रकरणमा मुद्दा नचलाउने निष्कर्ष निकालेका थिए ।
रिट निवेदक पौडेलको जिकिर छ–आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक हुँ भनी पासपोर्ट निवेदन फारम भरेर नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य र कसुर हो भन्ने विषयमा विवाद नै नरहे पनि महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण छ ।
उहाँका अनुसार, राहदानी प्राप्त गर्ने क्रममा लामिछानेको आपराधिक मनसाय नरहेको भन्ने निष्कर्ष महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निकालेका हुन् ।
पौडेलले लामिछानेले उक्त राहदानी कुन–कुन समयमा र के प्रयोजनका लागि प्रयोग (दुरुपयोग) गरेको रहेछ भन्ने विवरण अध्यागमन विभागबाट झिक्न माग गर्नु भएको छ ।
साथै, दोहोरो छलफल (पूर्ण सुनुवाइ) नभएसम्म नेपाली नागरिकका रूपमा राजनीतिक अधिकार प्रयोग गर्न नदिन सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोगलगायत विपक्षीका नाममा अन्तरिम आदेश जारी गर्नुपर्ने माग पनि रिटमा समेटिएको छ ।
यो प्रकरण थप रोचक यसकारण बनेको छ कि यसअघि नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट लामिछाने दोषी ठहर भइसक्नु भएको छ ।
नागरिकता अमान्य ठहर भइसकेको पृष्ठभूमिमा अब राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा सर्वोच्चको धारणा के आउला ? भन्ने प्रश्नले राजनीतिक र कानुनी वृत्तमा चासो बढाएको छ ।
आजको सुनुवाइले नागरिकता र राहदानी–दुवै संवेदनशील विषयमा सर्वोच्चको दृष्टिकोण कता मोडिन्छ भन्ने सङ्केत दिने अपेक्षा गरिएको छ ।
राजनीतिक भविष्यसँग प्रत्यक्ष गाँसिएको यो मुद्दामा अदालतको फैसलाले व्यक्तिगत जिम्मेवारी र राज्यका निकायहरूको निर्णय प्रक्रियामाथि पनि गहिरो असर पार्ने देखिन्छ ।
*राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ स्थगित भएको छ । अपडेट १२ः१५ बजे