काठमाडौँ । राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११ मा निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ ।
नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार २०८२ कात्तिक १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
हरेक दुई/दुई वर्षमा राष्ट्रियसभामा एक तिहाई पद रिक्त हुने हुँदा रिक्त पदका लागि निर्वाचन गर्नु पर्ने हुन्छ ।
फागुन २० गते एमालेका आठ, माओवादी केन्द्रका सात, नेकपा (एकीकृत समाजवादी) का एक, लोकतान्त्रिक समाजवादीका एक, जनता समाजवादी पार्टीका एक र एक जना मनोनित सांसदको पद रिक्त हुँदैछ ।
प्रदेशसभा सदस्य र नगरपालिका प्रमुख/उपप्रमुख तथा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष रहेको निर्वाचन मण्डलद्वारा सङ्घीय कानुन बमोजिम प्रदेश सभा र स्थानीय तह प्रमुखको मतभार फरकफरक रहने व्यवस्था छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार निर्वाचन आयोगले प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ बनाएको छ ।