मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

प्रदेश युवा परिषद् गठनको माग, सरकार सकारात्मक

पोखरा । गण्डकी प्रदेशमा प्रदेश युवा परिषद् गठन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। युवामैत्री शासन प्रणाली सुदृढ गर्न अन्य प्रदेशहरूमा जस्तै गण्डकीमा पनि प्रदेश युवा परिषद् आवश्यक रहेको सहभागीहरूको निष्कर्ष थियो ।

जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा “किशोरीलाई सशक्तिकरण गरौं, बालमैत्री, पोषणमैत्री र युवामैत्री स्थानीय शासन प्रवर्द्धन गरौं” भन्ने नारासहित राष्ट्रिय युवा नीति–२०८२ र आगामी युथ भिजनका लागि प्रादेशिक कार्यशाला गोष्ठी २०८२ माघ १२ गते पोखरामा सम्पन्न भएको हो ।

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको सहकार्य, राष्ट्रिय युवा परिषद्को समन्वय तथा ब्रिटिस काउन्सिलको प्राविधिक सहयोगमा आयोजित कार्यशालामा सहभागीहरूले युवा सहभागिता अभिवृद्धि, नीति कार्यान्वयन र संस्थागत संरचनाको सुदृढीकरणमा जोड दिएका थिए ।

कार्यशालामा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराकी प्रमुख नीतु गर्तौलाले युवामा नैतिकता, चेतना र सक्रियताको आवश्यकता औंल्याउनु भयो ।

त्यसैगरी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव घनश्याम पौडेलले गण्डकी प्रदेश युवा परिषद् गठनको प्रस्ताव मन्त्रीपरिषद्मा पुगिसकेको जानकारी दिँदै छिट्टै परिषद् गठन हुने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् गण्डकी प्रदेश कार्यालयकी उपनिर्देशक डा. मीना भट्टले युवालाई सीप, उद्यमशीलता र रोजगारीसँग जोड्न सके मात्र समृद्धिको यात्रा सुरु गर्न सकिने धारणा राख्नु भयो ।

श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख चण्डीका पौडेलले श्रम सचेतना र सामाजिक सुरक्षा कोषको महत्वबारे प्रकाश पार्नु भयो ।

त्यस्तै स्याङ्जा जिल्लाको आँधिखोला गाउँपालिका–१ का वडा अध्यक्ष पवनकाजी अधिकारीले युवालाई उद्यमी बनाउने अभियान सफल बनाउन तीनै तहका सरकारबीच एकीकृत समन्वय आवश्यक रहेको उल्लेख गर्नु भयो ।

कार्यशालामा राष्ट्रिय युवा परिषद्की उप–सचिव चन्द्रा कुमारी थापाले राष्ट्रिय युवा परिषद्को भूमिका र संरचनाबारे प्रस्तुति दिनुभयो भने त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दिपेश घिमिरेले राष्ट्रिय युवा नीति–२०८२ को परिचय, युथ भिजन–२०२५ को समीक्षा तथा आगामी युथ भिजनका लागि सुझाव संकलनसम्बन्धी प्रस्तुति गर्नु भयो ।

सहभागीहरूले युवामैत्री तथा जलवायुमैत्री शासन, बालविवाह अन्त्य, उद्यमशीलता विकास, सामाजिक कुरीति र कुसंस्कारविरुद्ध अभियान, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको सुझाव दिएका थिए ।

कार्यशालामा सहभागीहरूलाई तीन समूहमा विभाजन गरी नीति संरचना र नीति कार्यान्वयन विषयमा समूहगत छलफलपछि प्रस्तुति गरिएको थियो ।

कार्यक्रम राष्ट्रिय युवा परिषद्की उप–सचिव चन्द्रा कुमारी थापाको अध्यक्षतामा सम्पन्न भएको हो । स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे कार्यक्रम संयोजक रिता थापाले प्रकाश पार्नुभयो भने कार्यक्रम सञ्चालन जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले गर्नुभएको थियो ।

कार्यशालामा युवा जनप्रतिनिधि, विद्यार्थी, व्यवसायी, सञ्चारकर्मी, अल्पसङ्ख्यक समुदाय, पर्यटन व्यवसायी, फरक क्षमता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, किशोर–किशोरी लगायत गण्डकी प्रदेशका ७ जिल्लाबाट ७० भन्दा बढी युवाको सक्रिय सहभागिता रहेको थियो ।

Author

Related News