मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सुशासन नै लोकतन्त्रको मेरुदण्ड

पोखरा । “सृजनाको परिकल्पना समुन्नत समाजको स्थापना” भन्ने नारासहित स्थापित सामाजिक संस्था सृजना विकास केन्द्र, पोखरा–८ सिमलचौरले वर्तमान सन्दर्भमा सामाजिक रूपान्तरणका लागि नागरिक जागरण अभियान विषयक अन्तरसम्वाद कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम २०८२ पुस ४ गते पोखरामा सम्पन्न भएको हो । अन्तरसम्वादमा वर्तमान राजनीतिक–सामाजिक परिदृश्य, सामाजिक विखण्डन, धार्मिक भावजडता, आर्थिक शोषण, सामाजिक असुरक्षा, मानसिक असन्तुलन, मानवीय सत्ताको अवमूल्यनका कारण, समाज आन्दोलनको आवश्यकता, संरचनात्मक समाज निर्माण, सुसम्बद्ध समाजको गठन, सांस्कृतिक विविधतामा सामाजिक एकता, शोषणरहित समाजको स्थापना, नव्यमानवतावादी नेतृत्व, आत्मनिर्भर तथा सन्तुलित आर्थिक व्यवस्था लगायतका विषयमा गहन छलफल गरिएको थियो ।

स्वतन्त्र परामर्शदाता छवि गौडेलले वर्तमान सन्दर्भमा सामाजिक रूपान्तरणका लागि नागरिक जागरण अभियान विषयमा सहजीकरण गर्नुभएको थियो ।

सामाजिक रुपान्तरणका लागि नागरिक जागरण अभियान आवश्यक रहेको निष्कर्षसहित अन्तरसम्वाद कार्यक्रममा नेपाली काग्रेसका सचिव नवीन सिग्देल, नेकपा एमालेले सचिवालय सदस्य झपट रानाभाट, नेपाली कम्युनिस्ट पार्टी कास्कीका संयोजक विश्व प्रकाश लामिछाने , राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश संयोजक शङ्कर बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति यदुनाथ अधिकारी, राप्रपा कास्कीका जिल्ला सचिव भानुभक्त भण्डारीले आआफ्नो पार्टीको धारणा राख्नु भएको थियोे

कार्यक्रममा सामाजिक व्यक्तित्व आनन्दराज मुल्मी, प्राध्यापकहरू डा. लेखनाथ भट्टराई, पदमशरण रेग्मी र गेहेन्द्रेश्वर कोईरालाले सुशासनका लागि विभिन्न आन्दोलन भए पनि ती अन्ततः सम्झौतामा टुंगिने परिपाटी मौलाएको टिप्पणी गर्नु भयो ।

उहाँहरूले सुशासन नै लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै तन्त्र परिवर्तन भए पनि अवस्था जस्ताको तस्तै रहेकाले यसलाई बदल्न पछिल्ला आन्दोलनहरूले केही सकारात्मक सन्देश दिएको धारणा राख्नु भयो ।

वक्ताहरूले अधिकारकर्मी र नागरिक समाजले आफूअनुकूल अधिकारको व्याख्या गर्ने प्रवृत्ति बढेकाले सुधार आवश्यक रहेको बताए। अधिकारसँगै कर्तव्य पालना गर्दै असल नागरिक र मानवीय मर्यादा कायम गर्नु आजको प्रमुख चुनौती रहेकोमा उनीहरूको जोड थियो ।

सामाजिक अभियान्ता खेमप्रसाद पौडेलले जेन–जी आन्दोलनका कारण खस्किएको सुरक्षाकर्मीको मनोबल, पछिल्लो राजनीतिक परिस्थिति र थपिएको सुरक्षा चुनौतीप्रति सरकार गम्भीर हुनुपर्ने बताउनु भयो ।

उहाँले सरकारले तोकेकै समयमा निर्वाचन सम्पन्न गर्न नसके थप चुनौती उत्पन्न हुने चेतावनी दिनु भयो ।

नागरिक समाज गण्डकीका सदस्य कृष्ण केसीले मुलुकमा “नागरिक सरकार” आवश्यक रहेको बताउँदै स्वच्छ र निष्पक्ष निर्वाचन नै लोकतन्त्रको प्रमुख मर्म भएको उल्लेख गर्नु भयो ।

त्यसैगरी कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका निर्वतमान अध्यक्ष रामप्रसाद सुबेदी, मानवअधिकार आयोग पोखराकी कार्यालय प्रमुख नितु गर्तौला, पोखरा उद्योग वाणिज्य सङ्घकी महासचिव शोभा गौतम, सल्लाहकार समितिका सभापति लिलाधर बराल, पूर्व अध्यक्ष राजु पौडेल, इन्सेक पोखराका गणेश भण्डारी, सङ्कल्प गण्डकी प्रदेश सचिव ईश्वरी विक, युवा अभियान्ता अनिलबहादुर क्षेत्री, जेनजी कास्कीका प्रतिनिधि सुसन अधिकारी र आरएन जैसवालले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

वक्ताहरूले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको भन्दै सामाजिक, आर्थिक तथा बौद्धिक विकास र मनोबल अभिवृद्धिका लागि सबैको साझा दायित्व र दिगो विकासका लागि सहकार्य आवश्यक रहेको बताए ।

सृजना विकास केन्द्रका अध्यक्ष चन्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा उद्देश्यबारे प्रकाश निर्वतमान अध्यक्ष विष्णुप्रसाद बरालले पार्नुभएको थियो भने सञ्चालन पूर्व अध्यक्ष मिनप्रसाद भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा राजनीतिक दल, प्राज्ञिक व्यक्तित्व, अधिकारकर्मी, नागरिक समाज, सामाजिक सङ्घसंस्था, कानुनी व्यवसायी तथा उद्योग व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Author

Related News