मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

गोनेसाको २३औं साधारण सभा तथा सामाजिक परिक्षण सम्पन्न

पोखरा । “मानवताको लागि मिलेर सेवा गरौं” भन्ने मूल नारासहित स्थापित बालबालिकाको क्षेत्रमा सक्रिय असल छिमेकी सहयोग सङ्घ (गोनेसा) नेपाल पोखराको २३औं साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम २०८२ असोज ३ गते सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भिस्पे इटलिका निवर्तमान महासचिव तथा हाल नेपाल हेर्ने सदस्य एन्तोनियो क्यासिनीले गोनेसाद्वारा सञ्चालन भएका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी तीन वर्षका लागि समावेशी शिक्षासम्बन्धी परियोजना सञ्चालनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

वरिष्ठ अधिकारकर्मी तथा गोनेसाका अध्यक्ष रामप्रसाद सुवेदीले संस्थाले २०५६ सालदेखि अनौपचारिक (सुकुम्बासी बस्ती) मा बसोबास गर्ने बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, पोषण, जीविकोपार्जन, सरसफाई, जलवायु परिवर्तन र सामाजिक रूपान्तरणमा निरन्तर काम गर्दै आएको बताउनु भयो ।

उहाँका अनुसार यस आर्थिक वर्षमा ४ सय १२ जना विद्यार्थी लाभान्वित भएका छन् भने विगत १५ वर्षमा १ हजार ६८ जना बालबालिकाले नर्सरीदेखि १२ कक्षासम्म अध्ययन गर्ने अवसर पाएका छन् । तीमध्ये ६ सय ४१ जना विभिन्न पेशामा आबद्ध भइसकेका छन् ।

कार्यक्रममा सामाजिक परीक्षण विज्ञ बविन नेपालीले संस्थाले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका गतिविधि, उपलब्धि र सिकाइका बुँदाहरू प्रस्तुत गर्नु भयो ।

उहाँले गोनेसाले पोखरा महानगर क्षेत्रभित्र १२ ओटा र सामुदायिक विद्यालयमा पाँच ओटा गरी १७ बालविकास केन्द्र सञ्चालन गर्दै करिब ३ सय ५० बालबालिकालाई शिक्षा प्रदान गरिरहेको जानकारी दिनु भयो ।

गोनेसाले सञ्चालन गरेका मुख्य कार्यक्रमहरूमा बालविकास केन्द्र स्थापना, पोषण सहयोग, अभिभावक सचेतना, सहजकर्ता तालिम, मर्मत सम्भार, विद्यालय भर्ना सहयोग, स्वास्थ्य सेवा, सामुदायिक विकास, जलवायु अनुकूलन, विशेष दिवस कार्यक्रम तथा नागरिक समाजसँग सहकार्य रहेका छन् ।

साधारण सभामा महासचिव श्यामनाथ कुँवरले पेश गर्नु भएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष निरमाया गुरुङले पेश गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको सूचना अधिकारी कमलबहादुर पुनले जानकारी दिनु भयो ।

कार्यक्रममा गोनेसाका निवर्तमान अध्यक्ष मेजर दिलबहादुर गुरुङ, गैरसरकारी संस्था महासङ्घ कास्की अध्यक्ष इन्दिरा पौडेल, वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे, कार्यकारी निर्देशक शिवराज शर्मा, वडा सदस्य कृष्णबहादुर कुँवरलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा प्रमुख अतिथि एन्तोनियो क्यासिनीलाई सम्मान गरिएको थियो । कार्यक्रम अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षता, सदस्य शिशिर खनालको स्वागत मन्तव्य र महासचिव कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

Author

Related News