पोखरा । भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई असल छिमेकी सहयोग सङ्घ (गोनेसा नेपाल), पोखराले राहत सामग्री तथा आर्थिक सहयोग प्रदान गरेको छ ।
गोनेसाले चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज (सिड्स) नेपालको समन्वयमा २०८३ असोज २४ गते राहत सामग्री तथा आर्थिक सहयोग वितरण गरेको हो ।
बाढीबाट प्रभावित थाक्रे गाउँपालिकाका बेपत्ता तथा मृतकका २१ परिवार र गल्छी गाउँपालिकाका १९ परिवार गरी ४० परिवारलाई आर्थिक तथा राहत सहयोग उपलब्ध गराइएको गोनेसाले जनाएको छ ।
त्यस्तै, गल्छी गाउँपालिका-६, महेशदोभानका ६० परिवारलाई ओढ्ने-ओछ्याउने सामग्री र प्रभावित ५२ जना बालबालिकालाई एकएक सेट न्यानो कपडा वितरण गरिएको थियो ।
कार्यक्रममा गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बाढीबाट प्रभावित परिवारको दैनिक जीवनयापनमा परेको कठिनाइलाई मध्यनजर गर्दै आवश्यक राहत सामग्री उपलब्ध गराइएको बताउनुभयो ।
चिसो मौसम सुरु भएसँगै पर्याप्त न्यानो सामग्रीको अभावमा प्रभावित परिवारले थप समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले सहयोगलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उहाँले सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।
थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले विपद्पछि प्रभावित परिवारलाई सुरक्षित बसोबास र सामान्य जीवनयापनमा सहयोग पुर्याउन सामाजिक संस्थाले गरेको योगदानको प्रशंसा गर्नुभयो । दुःखको समयमा राज्यलाई सहयोग गर्दै मानवीय सेवामा जुटेका संस्थाप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
गोनेसा नेपालका अध्यक्ष तथा वरिष्ठ अधिकारकर्मी रामप्रसाद सुवेदीले प्रभावित परिवारको दैनिक जीवन सहज बनाउन र चिसो मौसममा बालबालिकालाई सुरक्षित राख्न राहत सामग्री उपलब्ध गराइएको बताउनुभयो ।
बाढीबाट प्रभावित परिवारलाई डसना, सिरक, तन्ना, ब्ल्याङ्केट, सिरानी तथा म्याटलगायतका अत्यावश्यक सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
विपद्का समयमा बालबालिका बढी जोखिममा पर्ने भएकाले उनीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर न्यानो कपडा उपलब्ध गराइएको सुवेदीको भनाइ थियो ।
तत्काल राहतले प्रभावित परिवारलाई सहयोग पुग्ने भए पनि उनीहरूको जीवनयापन दीर्घकालीन रूपमा सहज बनाउन पुनःस्थापना र पुनर्निर्माणका कार्यक्रमसमेत आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।
गोनेसाका कार्यकारी निर्देशक शिवराज शर्माका अनुसार थाक्रे गाउँपालिकाका २१ र गल्छी गाउँपालिकाका १९ गरी ४० परिवारलाई प्रतिपरिवार एक थान १० किलो कालो कपासको डसना, एक थान डबल साइजको फाइबर सिरक, एक थान पातलो ब्ल्याङ्केट, दुई थान सिरानी, एक थान तन्ना र दुई मिटर कालो म्याट वितरण गरिएको थियो ।
राहत सामग्री तथा नगद सहयोग एकद्वार प्रणालीमार्फत पारदर्शी र व्यवस्थित रूपमा वितरण गर्न गोनेसा नेपालले गल्छी गाउँपालिकासँग आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध गरेको थियो ।
कार्यक्रममा सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रूपाखेती, संस्थाका सचिव दिलबहादुर रम्तेल तथा स्थानीय शिव भण्डारीले प्राकृतिक विपद्बाट प्रभावित परिवारले भोग्नुपरेको पीडाका बिच सामाजिक संस्थाबाट प्राप्त सहयोगले राहत पुग्ने विश्वास व्यक्त गरे ।
गोनेसा नेपाल, पोखरा र सिड्स नेपालको सहकार्यमा गरिएको राहत वितरणले विपद्का बेला प्रभावित परिवारप्रति सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको महत्त्वलाई उजागर गरेको छ ।