पोखरा । बालबालिकाको शिक्षा र स्वास्थ्यमा सक्रिय असल छिमेकी सहयोग सङ्घ (गोनेसा) पोखराले आर्थिक वर्ष २०८१/८२ का कार्यक्रमहरूको समीक्षा तथा आगामी योजनाहरूको जानकारी गराउने उद्देश्यले डिप्याक (जिल्ला परियोजना सल्लाहकार समिति) बैठक तथा अन्तरक्रिया कार्यक्रम २०८२ भदौ १५ गते सम्पन्न गरेको छ ।
पोखरामा सम्पन्न यो कार्यक्रम कास्की जिल्ला समन्वय समिति प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।
प्रमुख पौडेलले समयमै समीक्षा बैठक आयोजना गर्नु सकारात्मक अभ्यास भएको उल्लेख गर्दै सामाजिक सङ्घसंस्थालाई राज्यका सहयात्रीको रूपमा समन्वयमा काम गर्नुपर्नेमा जोड दिनु भयो ।
गोनेसाका अध्यक्ष तथा वरिष्ठ अधिकारकर्मी रामप्रसाद सुवेदीले दिगो विकास लक्ष्यका लक्ष्य नं. ३ र ४.२ अनुसार कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनु भयो ।
पोखरा महानगरका १२ ओटा टोल र पाँच ओटा सामुदायिक विद्यालयमा सञ्चालनमा रहेका १७ बाल विकास केन्द्रमार्फत करिब ३ सय ५० जना २.५ देखि ५ वर्षका बालबालिकालाई शिक्षा दिइँदै आएको उहाँले बताउनु भयो ।
संस्थाले जेहेन्दार तथा अतिविपन्न बालबालिकालाई विद्यालय भर्ना, शैक्षिक सामग्री तथा पोशाक वितरणजस्ता कार्य गर्दै आएको छ ।
कार्यक्रममा कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज बराल, अधिकृत लक्षु शर्मा, शिक्षा विकास समन्वय इकाईका प्रमुख लोकनाथ आर्चाय, प्रदेश स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, छोरेपाटन माविका सह- प्रधानाध्यापक मेघराज पौडेल, जानकी माविका प्रधानाध्यापक अर्जुन कँडेल, राष्ट्रिय बालअधिकार परिषद्का समन्वय अधिकृत बद्री वाग्ले, गैसस कास्कीका अध्यक्ष इन्दिरा पौडेल, संस्थाका कार्यकारी निर्देशक शिवराज शर्मा, पोखरा मनपा वडा -२५ का कार्यवाहक अध्यक्ष कृष्णबहादुर कुँबर गोनेसाका सूचना अधिकारी कमलबहादुर पुन सेवाग्राहीको तर्फबाट डिलुमाया भण्डारी, कृतिका भण्डारी र दिपेश गुरूङ लगायतले कार्यक्रममा गोनासेको कामबारे बोल्नु भएको थियो ।
अतिथिहरूले गोनेसाद्वारा सञ्चालित बाल विकास केन्द्रहरूमा गरिएको सहयोग सराहनीय रहेको उल्लेख गर्दै जन्मदर्ता, नागरिकता, खाजा गुणस्तरीयता, शैक्षिक सामग्रीको अभावजस्ता विषयमा सुझाव र धारणा राखेका थिए ।
कार्यक्रममा सेवाग्राहीको तर्फबाट डिलुमाया भण्डारी, कृतिका भण्डारी, दिपेश गुरुङ लगायतले अनुभव सुनाउनु भएको थियो ।
कार्यक्रममा सरोकारवाला र सेवाग्राही गरी ४५ जनाको सहभागिता रहेको लेखा अधिकृत प्रदीप सुवेदीले जानकारी दिनु भयो ।