मधु पन्थी, पोखरा।
गण्डकी प्रदेश मातहतका ११ जिल्ला मध्ये २०८२ असार १७ गते लमजुङ जिल्ला सहित आठ जिल्लाहरू म्याग्दी, मनाङ, बागलुङ, तनहुँ, पर्वत, कास्की र गोरखालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।
अन्य तीन जिल्लाहरू स्याङ्जा, नवलपरासी पूर्व र मुस्ताङ यसै आर्थिक वर्ष भित्र पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले बताउनु भयो ।
नियमित खोप पाउनु बालबालिकाको नैसर्गिक अधिकार र खोप लगाउनु राज्यको दायित्व भएकाले, खोप कार्यक्रम तीनै तहका सरकारले प्राथमिकतामा राखिएको र बालबालिकाहरूलाई १३ प्रकारका रोगविरुद्ध लगाइने सम्पूर्ण खोप लगाई सकेपछि पूर्णखोप सुनिश्चितता एवम् दिगोपना घोषणा गर्ने गरिएको र प्रदेशका सबै जिल्ला घोषणा भएपछि गण्डकी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिने मन्त्री पाठकको भनाइ छ ।
जिल्ला खोप समन्वय समिति सदस्य सचिव तथा प्रदेश जनस्वास्थ्य कार्यालय, लमजुङका प्रमुख प्रविण खनालका अनुसार ०-१५ महिनाका नियमित खोप लगाउने बालबालिकाहरुको सङ्ख्या १ हजार ७ सय ४६ छ ।
पूर्ण खोप लगाउने १६-२३ महिनाका बालबालिकाहरू सङ्ख्या १ हजार ८१ जना रहेका छन् । पूर्णखोप प्रदान गर्ने स्थानीय तहहरूमा सुन्दरबजार नगरपालिकामा १ सय ३७, राइनास नगरपालिकामा १ सय ८६, क्व्होलासोथार गाउँपालिकामा ५६, मस्र्याङ्दी गाउँपालिकामा, १ सय १८, दोर्दी गाउँपालिकामा १ सय १७, दूधपोखरी गाउँपालिकामा ६०, बेसीशहर नगरपालिकामा २ सय ३८ र मध्यनेपाल नगरपालिकामा १ सय ६८ जना रहेको प्रमुख खनालले जानकारी दिनु भयो ।
अहिले हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने गरिएको र खोप लगाउनबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भनी खोजीखोजी खोप लगाउने गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा प्रदेश जनस्वास्थ्य कार्यालय, लमजुङका प्रमुख प्रविण खनालले बताउनु भयो ।