मानव आवाज

२०८२ फाल्गुन २५ गते
00: 00: 00
२०८२ फाल्गुन २५ गते

मन्त्री घिसिङलाई बर्खास्त गर्न जेन्जीको माग

काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा तीन मन्त्रालय सम्हालिरहेका निर्वाचन सरकारका मन्त्री कुलमान घिसिङले पद नत्यागी नै चुनाव लड्ने घोषणा गरेपछि जेन्जी मुभमेन्ट नेपालले कडा आपत्ति जनाएको छ ।

सङ्गठनले घिसिङलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गर्दै २०८२ मङ्सिर १५ गते प्रेस वक्तव्य जारी गरेको छ ।

जेन्जी मुभमेन्टका अनुसार मन्त्री पदमै रहेर चुनावी प्रतिस्पर्धामा उत्रिन खोज्नु लोकतान्त्रिक मूल्य, राजनीतिक नैतिकता र सत्ता–पदको दुरुपयोगको खुला उदाहरण हो ।

सङ्गठनले मन्त्री पदलाई ‘व्यक्तिगत सुरक्षा कवच’ बनाएर सत्ता कब्जाको योजनाबद्ध प्रयास भइरहेको आरोप लगाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले “कुलमान घिसिङ नभएको भए सरकार बन्दैनथ्यो” भन्ने अभिव्यक्ति दिएको प्रसङ्ग उठाउँदै जेन्जी मुभमेन्टले सरकार जनमत होइन, एक व्यक्तिको उपस्थितिमा निर्भर भएको प्रमाणित भएको दाबी गरेको छ ।

वक्तव्यमा भनिएको छ-“त्यही व्यक्तिलाई मन्त्री पदमै राखेर चुनावमा पठाउने निर्णयले सत्ता कू बाट बनेको सरकार भन्ने आरोप अब प्रमाणमा रूपान्तरित भइसकेको छ ।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका मुद्दा तथा भारतसँग विद्युत् सम्झौतामा ४३ करोड रुपियाँ क्षति हुनेगरी कमिशन लिएको आरोप उजागर भइसकेपछि घिसिङ ‘पदमा बसिरहनु कर्तुत छोप्ने प्रयास’ मात्र भएको जेन्जी मुभमेन्टले टिप्पणी गरेको छ ।

‘मन्त्री पदमै टाँसिन चाहनु भ्रष्टाचार र सत्ता दुरुपयोगको स्वीकारोक्ति हो ।’-वक्तव्यमा उल्लेख छ ।

सङ्गठनले घिसिङको चुनावी तयारीले आफूहरूले उठाउँदै आएको ‘सत्ता कब्जा’ को आरोप पुष्टि भएको दाबी गरेको छ ।

जेन्जी विद्रोहका माग बेवास्ता गरेर सरकार सत्ता लम्ब्याउन केन्द्रित रहेको आरोप पनि वक्तव्यमा राखिएको छ ।

जेन्जी मुभमेन्टले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘विद्रोहलाई अपहरण गरेर बनेको सत्ता कू’ दाबी गर्दै अब यसको नैतिक र राजनीतिक वैधता समाप्त भएको निष्कर्ष निकालेको छ।

वक्तव्यको अन्त्यमा सङ्गठनले कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गर्दै “कुशासन अन्त्य हुन्छ, सत्ता कब्जा भत्किन्छ र नयाँ पुस्ताको बलिदानबाट देश नयाँ युगतर्फ अघि बढ्छ” भन्दै फेरि पनि सङ्घर्षका लागि तयार रहेको घोषणा गरेको छ ।

Author

Related News