पोखरा । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट बसन्त गौतमको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । निर्वाचन अधिकृत चौबहादुर गुरुङका अनुसार नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
२०८३ भदौ २७ गते सम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा विकास भट्टराई, द्वितीय उपाध्यक्षमा योगेश भट्टराई, महासचिवमा वीरेन्द्र शेरचन, सचिवमा रोशनजङ्ग कार्की, कोषाध्यक्षमा सुरेश न्यौपाने र सहकोषाध्यक्षमा सफल थापा निर्वाचित हुनुभएको छ ।
त्यसैगरी कार्यसमिति सदस्यमा वैभव पौडेल, भीष्मराज पौडेल, लोकेश ढकाल, कृष्ण अधिकारी, सुमन भट्टराई, सुनिलबहादुर भट्टराई, राजबहादुर भुजेल र वसन्त न्यौपाने निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष बसन्त गौतमले पोखराको पर्यटन क्षेत्रमा करिब चार दशकको अनुभव बटुल्नुभएको व्यवसायी हुनुहुन्छ ।
सामान्य कामदारका रूपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका गौतमले तीन दशकभन्दा बढी समयदेखि पर्यटन व्यवसायमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

उहाँको सक्रियता र लगानीमा पोखराको लेकसाइडमा तीन ओटा प्रतिष्ठान सञ्चालनमा छन् । गौतम अध्यक्ष रहेको टेम्पल ट्री रिसोर्ट एन्ड स्पा चारतारे बुटिक रिसोर्टका रूपमा पर्यटकमाझ लोकप्रिय छ ।
त्यस्तै, इटालियन परिकारका लागि परिचित क्याफे कन्सर्टो उहाँको प्रारम्भिक व्यावसायिक सफलतामध्ये एक हो ।
मेडिटेरेनियन तथा अन्तर्राष्ट्रिय परिकारका लागि परिचित मेड फाइभ रेस्टुरेन्ट पनि उहाँको लगानीमा सञ्चालित छ ।
शून्यबाट व्यावसायिक यात्रा सुरु गर्नुभएका गौतमले आफ्नो लामो समय पर्यटन क्षेत्रको विकास, आतिथ्य सत्कार र गुणस्तरीय सेवा विस्तारमा समर्पित गर्दै आउनुभएको छ ।
अधिवेशनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले औपचारिक कार्यक्रमबिच उद्घाटन गर्नुभएको थियो ।
मेयर आचार्यले फेवाताल संरक्षणमा स्थानीय व्यवसायीहरूको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । फेवाताल क्षेत्रमा जथाभावी बियर बिक्री गर्दा स्थानीय व्यवसायीहरूले त्यसको विरोध नगरेको उल्लेख गर्दै महानगरपालिकाले त्यस्ता गतिविधि हटाउन खोज्दा उल्टै धम्की आउने गरेको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले चालु आर्थिक वर्षमा बोर्डले पर्यटन प्रवर्धनमा बढी केन्द्रित भएर काम गरिरहेको बताउनुभयो । भौतिक पूर्वाधार विकासमा भने तुलनात्मक रूपमा कम प्राथमिकता दिइएको उहाँले उल्लेख गर्नुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पोखरामा पर्यटकको शान्ति तथा सुरक्षाका लागि प्रशासनले आवश्यक सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पोखरा पर्यटन परिषदका अध्यक्ष हरि बहादुर भुजेलले कृष्णभिर पहिरोको कारण पोखरामा पर्यटन क्षेत्रमा ठुलो असर परेको बताउनु भयो ।
अधिवेशनका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व तथा संस्थालाई सम्मानसमेत गरिएको थियो ।
दुई दशकदेखि पत्रकारितामार्फत पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशकी महासचिव जमुना वर्षा शर्मालाई नगद २० हजार रुपियाँसहित सम्मान गरिएको थियो ।
त्यस्तै, नागरिक समाज कास्कीका संस्थापक संयोजक एवम् वातावरण संरक्षणकर्मी रामबहादुर पौडेल, सामाजिक अभियन्ता एवम् स्वयम्सेवी सीताराम दाहाल र डुलुवा टिमलाई पनि सम्मान गरिएको थियो ।
रेवानले आफ्ना सदस्य प्रतिष्ठानमा कार्यरत म्यानेजर, सेफ तथा कुकलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेमा म्यानेजर हरि पौडेल र सेफ ताराप्रसाद श्रेष्ठलगायत हुनुहुन्छ ।
हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सडक महोत्सव आयोजना गर्दै देशविदेशका हजारौँ पर्यटक आकर्षित गर्दै आएको रेवानले पर्यटन प्रवर्धनसँगै रेस्टुरेन्ट तथा बारमा कार्यरत कर्मचारीको क्षमता विकासका लागि विभिन्न तालिमसमेत सञ्चालन गर्दै आएको छ ।
महासचिव वीरेन्द्र शेरचनका अनुसार रेवानले सेफ, बारिस्टा, बारटेन्डरलगायतका सीपमूलक तालिमका साथै खाद्य स्वच्छतासम्बन्धी तालिम पनि प्रदान गर्दै आएको छ । संस्थाले प्रत्येक दुई वर्षमा बृहत् स्वास्थ्य शिविरसमेत आयोजना गर्ने गरेको छ ।
अध्यक्ष गौतमका अनुसार यस वर्ष थपिएका ६ नयाँ सदस्यसहित रेवान पोखरामा हाल ९० सदस्य रहेका छन् ।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी निकाय, पर्यटन क्षेत्र, व्यवसायी तथा सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।