मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

“सांसद भएपछि १३ काम नगर्ने”भन्दै गणेश पौडेलको घोषणा

पोखरा । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कास्की-२ का सांसद गणेश पौडेलले आफूले आगामी पाँच वर्षमा नगर्ने १३ काम सार्वजनिक गर्नु भएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गर्दै आफ्नो कार्यकालमा सिफारिस, भनसुन र व्यक्तिगत स्वार्थका काम नगर्ने स्पष्ट पार्नु भएको हो ।

पौडेलले आफूसँग पारिवारिक, सामाजिक वा राजनीतिक सम्बन्धको आडमा जागिर मिलाइदिन, नियुक्ति, सरुवा वा बढुवा गराइदिन आग्रह नगर्न अनुरोध गर्नु भएको छ ।

उहाँले त्यस्ता काम नगर्ने स्पष्ट गर्दै स्कुल वा क्याम्पसमा कसैलाई स्कलरसिपमा भर्ना गराइदिन पनि आफूले पहल नगर्ने बताउनु भएको छ ।

यस्तै, ट्राफिक नियम उल्लङ्घन गरेपछि कारबाहीबाट जोगाइदिन सोर्सफोर्स प्रयोग नगर्ने तथा लागूऔषध ओसारपसार, ठगी, जालसाजी, कुटपिट, चोरी-तस्करी जस्ता आपराधिक घटनामा भनसुन नगर्ने उहाँको भनाइ छ ।

उहाँले महिला, दलित, यौनिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिमाथि हुने हिंसाका घटनामा केस थामथुम पार्न सहयोग नगर्ने, बरु त्यस्ता घटनाविरुद्ध दृढ रूपमा उभिने बताउनु भएको छ ।

सांसद पौडेलले ठेक्कापट्टा वा टेन्डर मिलाइदिन, गैरकानुनी सम्झौता मिलाउन सहयोग नगर्ने पनि स्पष्ट पार्नु भएको छ ।

त्यस्तै, विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान जस्ता संस्थामा मनोनयनका लागि अनुरोध नगर्न आग्रह गर्दै उहाँले यी संस्थाहरू स्वायत्त र राजनीतिमुक्त हुनुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।

उहाँले आफू वा आफ्नो परिवारलाई आर्थिक वा अन्य प्रलोभन देखाएर काम लिन नसकिने पनि बताउनु भएको छ ।

साथै नागरिकता, सिफारिस, लाइसेन्स, अनुदान लगायत सरकारी प्रक्रियामा छोटकरी खोज्न सहयोग नगर्ने उहाँको भनाइ छ ।

सांसद पौडेलले सरकारी स्रोतसाधन निजी प्रयोगका लागि उपलब्ध नगराउने, विकास बजेट आफ्नो टोल वा गाउँमा मात्र हाल्ने काम नगर्ने तथा सरकारी पदको दुरुपयोग गरेर कसैलाई दुःख दिन वा बदला लिन सहयोग नगर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।

यसैगरी उहाँले “मैले तपाईंलाई भोट हालेको हुँ”भन्दै बिहेवारी, व्रतबन्ध, पास्नी वा भोजमा बोलाउन आवश्यक नरहेको उल्लेख गर्नु भएको छ ।

तर, दुःख वा मृत्यु परेको अवस्थामा भने भ्याएसम्म आफैँ पुग्ने उहाँले बताउनु भएको छ । पौडेलको यो घोषणा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

Author

Related News