पोखरा । गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले पदभार ग्रहण गरेको १ सय दिन पूरा भएको अवसरमा मन्त्रालयले पत्रकार सम्मेलनमार्फत आफ्नो प्रमुख उपलब्धि सार्वजनिक गरेको छ ।
मन्त्री कार्कीले छोटो अवधिमै नीति निर्माण, बजेट तर्जुमा र कार्यक्रम कार्यान्वयनलाई प्राथमिकता दिइएको बताउँदै किसानमुखी कार्यक्रम, कानुनी सुधार र सेवा प्रवाहमा उल्लेखनीय प्रगति भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार रिटर्न टु भिलेजका लागि २ करोड, कृषि एम्बुलेन्स सेवाका लागि १ करोड, रासायनिक तथा जैविक मल व्यवस्थापनका लागि २ करोड ६० लाख, प्राकृतिक प्रकोप राहत कोषमा १ करोड ५१ लाख ५० हजार, न्यूनतम समर्थन मूल्य कार्यक्रमका लागि १ करोड, सार्वजनिक–निजी–सामुदायिक साझेदारी कृषि कार्यक्रमका लागि २ करोड ५० लाख, कृषि तथा पशुपन्छी बीमाका लागि १३ करोड १० लाख र उत्कृष्ट किसान सम्मानका लागि २० लाख रुपियाँ विनियोजन गरिएको छ ।
मन्त्रालयले प्रदेशबाटै विषादी विक्रेताको अनुमति तथा नवीकरण प्रणाली सुरु गरेको, पेपरलेस प्रणाली अघि बढाएको, खाद्य अधिकार तथा गुणस्तरसम्बन्धी विधेयक प्रदेश सभामा पेस गरेको तथा भूमि नीतिको मस्यौदा तयार गरेको पनि मन्त्री कार्कीले बताउनुभयो ।
कृषि उत्पादन वृद्धि र आयात प्रतिस्थापनका लागि आलु, खाद्यान्न र फलफूल उत्पादन तथा बजारमुखी कृषि प्रवर्धन कार्यक्रममार्फत करिब ५९ करोड रुपियाँभन्दा बढी बजेट विनियोजन गरिएको छ ।
यस्तै कृषि एपका लागि १० लाख, दुग्ध उत्पादन प्रोत्साहनअन्तर्गत ११ हजार २ सय ३२ किसानलाई ५ करोड ५८ लाख वितरण गरिएको, १८ ओटा दुग्ध चिस्यान केन्द्र स्थापना गरिएको र पूर्ण खोपयुक्त पालिका अभियानलाई निरन्तरता दिइएको जानकारी दिइयो ।
मन्त्रालयकी सचिव प्रेरणा सेढाइ भट्टराईले मन्त्री कार्कीको नेतृत्वमा नीति निर्माण, सेवा प्रवाह र किसानमुखी कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो ।
उहाँले रासायनिक मल आपूर्तिका लागि केन्द्र सरकारसँग समन्वय गरिएको, उत्कृष्ट किसानलाई ५० हजार रुपियाँसहित सम्मान गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको तथा आगामी दिनमा उत्पादन वृद्धि, बजारीकरण, आत्मनिर्भर कृषि प्रणाली र आयात प्रतिस्थापनमा केन्द्रित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।