मधु पन्थी, पोखरा ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशसभा बैठकबाट पारित भई आएका दुई ओटा विधेयक २०८२ असार ३० गते प्रमाणीकरण गर्नुभएको छ।
प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश गरिएका ती विधेयकहरू नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको गण्डकी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
प्रमाणीकरण गरिएका विधेयकहरूमा आर्थिक वर्ष २०८२/८३ को सेवा तथा कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने व्यवस्थासम्बन्धी विधेयक र गण्डकी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक रहेका छन्। दुवै विधेयक २०८२ असार २७ गते प्रदेशसभामा प्रस्तुत भएका थिए।
गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालका अनुसार यी विधेयकहरू अब औपचारिक रूपमा कार्यान्वयनको प्रक्रियामा प्रवेश गरेका छन्।
