मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

गण्डकी बहुप्राविधिक शिक्षालयमा नयाँ विद्यार्थीलाई स्वागत, पुरानालाई बिदाइ

चार सयभन्दा बढी विद्यार्थी प्राविधिक शिक्षामा संलग्न

पोखरा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र पोखरा महानगरपालिकाको साझेदारीमा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अध्ययन पूरा गरेका विद्यार्थीलाई औपचारिक कार्यक्रमबीच विदाइ गरिएको छ ।

शैक्षिक वर्ष २०८२/८३ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा २०७९/८० मा भर्ना भई अध्ययन पूरा गरेका विद्यार्थीलाई २०८२ पुस ४ गते विदाइ गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले समुदायस्तरमा ज्ञान र सीप विकास, रोजगारी सिर्जना, आर्थिक सशक्तीकरण, उद्यमशीलता तथा नवप्रवर्तनमार्फत प्रतिस्पर्धी जनशक्ति उत्पादनमा पोखरा महानगर प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले सोही उद्देश्यअनुसार महानगरले प्राविधिक शिक्षाका कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्नु भयो ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालका अनुसार शिक्षालयमा डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ, फार्मेसी तथा सामान्य चिकित्साका कक्षाहरू सञ्चालनमा रहेका छन् ।

सीटीईभीटीकी उपनिर्देशक डा. मिना भट्टले गण्डकी बहुप्राविधिक शिक्षालय प्राविधिक शिक्षाको विकासमा उल्लेखनीय योगदानकर्ता बनेको बताउँदै प्राविधिक शिक्षाले नयाँ पुस्तालाई परिवर्तनसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने र राष्ट्रलाई आधुनिक अर्थतन्त्रतर्फ उन्मुख गराउने महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

शिक्षालय सञ्चालक समिति सदस्य प्रा. डा. सरस्वती न्यौपाने शर्माले दक्ष जनशक्ति उत्पादनमार्फत आत्मनिर्भरता, रोजगारी, उद्यमशीलता र दिगो विकास सम्भव हुने बताउँदै गण्डकी बहुप्राविधिक शिक्षालय यस अभियानमा अग्रसर रहेको उल्लेख गर्नु भयो ।

उहाँका अनुसार आगामी वर्षदेखि डिप्लोमा इन नर्सिङ कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरी काम सुरु भइसकेको छ ।

शिक्षालयका निर्देशक डा. टेकारायण पौडेलले हालसम्म अटोमोबाइल, सिभिल, जियोमेटिक्स इन्जिनियरिङ तथा वन विज्ञानतर्फ २ सय १४ जना विद्यार्थी पासआउट भइसकेको जानकारी दिनु भयो । यस अवसरमा २०७९/८० ब्याचका ८० जना विद्यार्थीलाई औपचारिक रूपमा विदाइ गरिएको थियो ।

उहाँका अनुसार शिक्षालयमा हाल चार सयभन्दा बढी विद्यार्थी प्राविधिक शिक्षा अध्ययनरत छन् । शिक्षालयको शैक्षिक प्रगति देशभर सञ्चालित प्राविधिक शिक्षालयमध्ये उत्कृष्ट रहेको दाबी गर्दै छोटो अवधिका तालिम पश्चात् ५० प्रतिशतभन्दा बढी प्रशिक्षार्थी व्यावसायिक क्षेत्रमा आबद्ध भएको जानकारी दिनु भयो । साथै राष्ट्रिय सीप परीक्षण केन्द्रको परीक्षामा ९० प्रतिशत प्रशिक्षार्थी उत्तीर्ण भएका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जी.सी.लाई विशेष सम्मान गरिएको थियो भने शिक्षालयका पूर्व निर्देशक लक्ष्मण तिमिल्सिनालाई ‘शिक्षालय वर्ष सम्मान २०८२’ प्रदान गरिएको थियो ।

सिभिल इन्जिनियरिङ कार्यक्रम संयोजकका रूपमा रही शिक्षालयलाई इन्जिनियरिङ क्षेत्रमा उत्कृष्ट बनाउन योगदान पुर्‍याएका इ. मनोज पौडेललाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा सीटीईभीटी गण्डकी प्रदेशका उपनिर्देशक डा. मिना भट्ट, पोखरा महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ, सञ्चालक समिति सदस्यहरू तथा विभिन्न अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शिक्षालयका निर्देशक डा. टेकारायण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य तथा सहजीकरण शैक्षिक प्रमुख सरोज अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विद्यार्थीहरू सविन विश्वकर्मा, प्रसिद्धी ओझा, बन्दना लम्साल र शाहिल थापा मगरले गर्नुभएको थियो ।

Author

Related News