मानव आवाज

२०८३ असोज ६ गते
00: 00: 00
२०८३ असोज ६ गते

भोटेकोशी बाढीमा बेपत्ता दुधौलीका दुई जनाको कुशको शव बनाएर अन्त्येष्टि

सिन्धुली दुधौली नगरपालिकाका दुई जनाको रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएको लामो समयसम्म अवस्था पत्ता लाग्न नसकेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् ।

२०८३ भदौ १० गते भोटेकोशीमा आएको अप्रत्याशित बाढीमा परी बेपत्ता भएका दुधौली नगरपालिका-१ का हरि कार्की र वडा नं. २ का लालबहादुर पुलामीको परिवारले असोज ४ गते धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार कुशको शव बनाएर दुधौलीस्थित कमला नदीमा अन्त्येष्टि गरेका हुन् ।

बाढी आएको लामो समयसम्म आफन्तजनले जीवितै भेटिने आशामा खोजी जारी राखेका थिए । तर, रसुवा, नुवाकोटलगायतका क्षेत्रमा खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् ।

दुधौली नगरपालिका-४ का वडाध्यक्ष रितबहादुर विश्वकर्मासहित वडा जनप्रतिनिधि, आफन्त र स्थानीयवासीले रसुवा र नुवाकोटसम्म पुगेर बेपत्ताको खोजी गरेका थिए ।

लामो समयसम्म खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेको वडाध्यक्ष विश्वकर्माले बताउनुभयो ।

भोटेकोशी बाढीमा दुधौली नगरपालिका क्षेत्रबाट पाँच जना प्रभावित भएका थिए । तीमध्ये एक जना सकुशल उद्धार भएर सम्पर्कमा आएका छन् भने चार जनाको अवस्था अझै अज्ञात रहेको छ ।

बेपत्ता चार जनामध्ये हरि कार्की र लालबहादुर पुलामीको परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन् । बाँकी दुई जनाको खोजी भने अझै जारी रहेको छ । उनीहरूका परिवारले आफ्ना आफन्त सकुशल भेटिने आशा अझै नछाडेको बताएका छन् ।

भदौ १० गते भोटेकोशीमा आएको बाढी तथा पहिरोले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो ।

बाढी तथा पहिरोमा परी विभिन्न स्थानमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका प्रयास जारी रहे पनि कतिपयको अवस्था अझै अज्ञात रहेको छ ।

लामो समयसम्म आफ्ना प्रियजन फर्किने आशामा बसेका परिवारका लागि खोजीको प्रयास निराशामा परिणत भएपछि कतिपयले धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गर्नुपर्ने अवस्था आएको हो ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार