मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

दक्षिण ललितपुरको माटोबाट राष्ट्रिय लिगसम्म: सुजनको सङ्घर्ष र सपना

ललितपुर । कोन्ज्योसोमको साधारण मैदान, च्यातिएको जुत्ता र आँखाभरि सपना-यही परिवेशबाट सुजन स्याङ्तानको फुटबल यात्रा सुरु भएको हो ।

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको ग्रामीण परिवेशमा हुर्किनुभएका सुजनले सीमित स्रोत, कठिन अभ्यास र निरन्तर सङ्घर्षका बिच आफ्नो पहिचान बनाउँदै आज देशकै सबैभन्दा प्रतिष्ठित राष्ट्रिय फुटबल लिग खेल्ने खेलाडीको स्तरसम्म यात्रा तय गर्नुभएको छ ।

कोन्ज्योसोम गाउँपालिकाबाट राष्ट्रिय लिगमा अनुबन्धित हुने पहिलो फुटबल खेलाडी बनेर उहाँले व्यक्तिगत सफलता मात्र होइन, स्थानीय इतिहाससमेत रच्नुभएको छ ।

२०५७ असोज २७ गते जन्मिनुभएका सुजन स्याङ्तान कोन्ज्योसोम गाउँपालिका–१ निवासी प्रतिभाशाली नेपाली फुटबल खेलाडी हुनुहुन्छ ।

उहाँको मुख्य पोजिसन लेफ्ट विंगर हो, जहाँ तीव्र गति, धारिलो ड्रिब्लिङ र आक्रमणात्मक सोच उहाँका प्रमुख बलिया पक्षका रूपमा चिनिन्छन् ।

मैदानमा उहाँको आत्मविश्वास र खेल पढ्ने क्षमता उमेरभन्दा परिपक्व देखिन्छ, जसले प्रशिक्षक र समर्थकहरूको ध्यान तान्दै आएको छ ।

सुजनको औपचारिक प्रतिस्पर्धात्मक फुटबल यात्रा वि.सं. २०७५ मा ललित मेमोरियल १८ वर्षमुनिको फुटबल प्रतियोगिताबाट सुरु भयो ।

एपीएफ १८ वर्षमुनिको टिमबाट पहिलो प्रतिस्पर्धात्मक खेल खेल्दै उहाँले सङ्गठित फुटबलको अनुभव लिन थाल्नु भयो ।

त्यसपछि टु स्टार क्लबबाट सी डिभिजन छनोट प्रतियोगितामा सहभागिता जनाउँदै उहाँले उच्च प्रतिस्पर्धा, दबाब र अनुशासनको वास्तविक पाठ सिक्नुभयो, जसले उहाँको खेल जीवनलाई नयाँ दिशातर्फ डोहोर्‍यायो ।

२०७८ सालमा वीरगञ्ज युथ एकेडेमीबाट शहीद स्मारक सी डिभिजन लिग खेल्दै सुजनले सिनियर स्तरको फुटबलमा आफ्नो उपस्थितिलाई मजबुत बनाउनु भयो ।

यस अवधिमा उहाँको खेल समझ, शारीरिक क्षमता र निरन्तरतामा उल्लेखनीय सुधार देखियो ।

नियमित खेल्ने अवसरले उहाँलाई जिम्मेवार खेलाडीका रूपमा परिपक्व बनायो र उच्च डिभिजनतर्फ उक्लिने आधार तयार गर्‍यो ।

उक्त यात्राको अर्को महत्वपूर्ण मोड २०८१ सालमा आयो, जब उहाँ बोइज युनियन क्लबबाट शहीद स्मारक बी डिभिजन लिगमा सहभागी हुनु भयो ।

प्रतियोगितामा टोलीले उपविजेता स्थान हासिल गर्‍यो, जुन उपलब्धिले सुजनको करिअरलाई नयाँ उचाइमा पुर्‍यायो ।

यो प्रदर्शनले उहाँ उच्च स्तरको प्रतिस्पर्धामा टिक्न र प्रभाव पार्न सक्षम खेलाडी भएको प्रमाणित गर्‍यो ।

निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट प्रदर्शनको परिणामस्वरूप हाल सुजन स्याङ्तान सातदोबाटो युथ क्लबमा आवद्ध भई नेसनल लिग खेल्ने तयारीमा हुनुहुन्छ ।

भविष्यमा नेपाली फुटबलमा आफ्नो बलियो प्रभाव जमाउँदै क्लब र राष्ट्रका लागि योगदान दिने उहाँको दृढ सङ्कल्प स्पष्ट देखिन्छ ।

राष्ट्रिय लिगसम्मको यो यात्रा सुजनका लागि अन्तिम लक्ष्य होइन, बरु अझ ठूला सपना र चुनौतीतर्फको प्रवेशद्वार हो ।

लामो सङ्घर्ष, निरन्तर अभ्यास र कहिल्यै नथाक्ने मेहनतले सुजनलाई हरेक नेपाली फुटबल खेलाडीको सपना मानिने राष्ट्रिय लिगसम्म पुर्‍याएको छ ।

यो अनुबन्ध व्यक्तिगत उपलब्धि मात्र नभई कोन्ज्योसोम गाउँपालिका र सिङ्गो दक्षिण ललितपुरका सयौँ युवाहरूका लागि आशा र प्रेरणाको कथा बनेको छ ।

सुजनको सफलताले स्थानीय समुदायलाई गर्व गराएको छ र गाउँका युवाहरू अब फुटबललाई केवल रहर होइन, सम्भावनाको बलियो बाटोका रूपमा हेर्न थालेका छन् ।

सुजन स्वयम् भन्नुहुन्छ-“सङ्घर्ष कहिल्यै खेर जाँदैन । अवसर ढिलो आउन सक्छ, तर मेहनतले कहिल्यै धोका दिँदैन ।”

सुजन स्याङ्तानको यात्रा यहीँ समाप्त हुँदैन-यो त अझ ठूलो लक्ष्य, अझ उच्च प्रतिस्पर्धा र नेपाली फुटबलको उज्यालो भविष्यतर्फको सुरुआत मात्र हो ।

Author

Related News