मानव आवाज

२०८३ बैशाख १२ गते
00: 00: 00
२०८३ बैशाख १२ गते

सहारा एकेडेमी पोखरा-१७ मा मैत्रीपूर्ण फुटबल सम्पन्न

पोखरा । पोखरा प्रवर्धन केन्द्र तथा पोखरा क्लिकको आयोजना र सहारा क्लब पोखराको सहकार्यमा पोखरामा मैत्रीपूर्ण फुटबल खेल २०८३ वैशाख १२ गते सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका-१७ दोबिल्लास्थित सहारा फुटबल एकेडेमीको खेल मैदानमा सम्पन्न खेलमा सहारा क्लबले पोखरा क्लिकको टोलीलाई ६-४ गोल अन्तरले पराजित गर्दै जित हात पारेको छ ।

सोही अवसरमा पोखरा क्लिकद्वारा प्रकाशन गरिएको नयाँ वर्षको भित्तेपात्रो (क्यालेन्डर) समेत सार्वजनिक गरिएको थियो ।

यसै अवसरमा “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने मूल नारासहित २०८२ चैत २८ गते आयोजना गरिएको पहिलो ‘पोखरा नाइट स्ट्रिट रेस’ को समीक्षा तथा शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।

उक्त प्रतियोगितामा नेपालसहित पाँच देशका १ सय ४५ जना धावकहरूको सहभागिता रहेको कार्यक्रम संयोजक एवम् पत्रकार दीनानाथ बरालले जानकारी दिनुभयो ।

सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले २६ रोपनी क्षेत्रफलमा फैलिएको सहारा एकेडेमीले बालबालिकाको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो ।

उहाँका अनुसार हाल एकेडेमीमा १६ जिल्लाका ३० जना बालक अध्ययनरत तथा प्रशिक्षणमा रहेका छन् ।

समाजसेवी सूर्यबहादुर केसीको स्मृतिमा केसी परिवारबाट वार्षिक १५ लाख रुपियाँ सहयोग प्राप्त भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

पोखरा महानगरपालिका-९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले पत्रकार तथा सञ्चारकर्मीलाई सिर्जनशील र नवीन कार्यक्रममार्फत शहरको पहिचान निर्माणमा अग्रसर हुन आग्रह गर्नुभयो ।

उहाँले आफ्नो वडाको पहिचान झल्किने कार्यक्रमलाई आवश्यक सहयोग उपलब्ध गराइने उल्लेख गर्दै रात्रिकालीन दौड प्रतियोगिताको निरन्तरताका लागि आगामी आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिने जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले सञ्चार संस्थाहरूको सक्रियतामा यस्ता कार्यक्रम आयोजना हुनु सकारात्मक रहेको बताउँदै प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला खेलकुद विकास समिति कास्कीका उपाध्यक्ष तिलक क्षेत्रीले उक्त प्रतियोगिता पोखराका लागि नयाँ सम्भावना बोकेको इभेन्ट भएको उल्लेख गर्दै आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा समावेश गरी समयमै व्यापक प्रचारप्रसार गर्न सुझाव दिनुभयो ।

सहारा क्लबका मानार्थ सदस्य महेश गुरुङले यसलाई पोखराको “ड्रिम प्रोजेक्ट” का रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले प्रारम्भिक चरणमा ट्राफिक व्यवस्थापन प्रभावकारी रहे पनि केही कमजोरी देखिएको स्वीकार गर्दै आगामी संस्करणमा सुधार गरिने बताउनुभयो ।

कार्यक्रमका वक्ताहरूले ‘पोखरा नाइट स्ट्रिट रेस’ लाई दीर्घकालीन रूपमा पोखराको पहिचान र ब्राण्डका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतियोगितालाई अझ व्यवस्थित, प्रभावकारी तथा अन्तर्राष्ट्रिय स्तरको बनाउँदै निरन्तरता दिनुपर्नेमा उनीहरूको धारणा रहेको थियो ।

पोखरा प्रवर्धन केन्द्रका अध्यक्ष दीनानाथ बरालले प्राप्त सुझावलाई आत्मसात गर्दै आगामी संस्करणलाई अझ परिष्कृत र उत्कृष्ट बनाइने बताउनुभयो ।

केन्द्रका उपाध्यक्ष असफल गौतमले खेल पर्यटन प्रवर्द्धन तथा रातिको समयमा समेत खेल गतिविधि सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बौद्धिक व्यक्तित्व, उद्योगी, व्यवसायी, पर्यटन तथा खेलकुदकर्मी, पत्रकार, जनप्रतिनिधि तथा आयोजक समितिका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

विभिन्न सङ्घसंस्था र सरोकारवालाको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले पोखरालाई खेल पर्यटनको उदीयमान गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।

Author

Related News