ललितपुर। ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित दल्चोकीमा निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
फागुन २४ गते आइतबार सिलिङेबेसीस्थित ज्ञानज्योति आधारभूत विद्यालयको प्राङ्गणमा “विदेशमा बसेका नेपालीको योगदान, स्वदेशको स्वास्थ्यको उत्थान” भन्ने नारासहित उक्त शिविर आयोजना गरिएको हो ।
एनआरएनए मेडिहेल्थ सेन्टरको आयोजनामा सम्पन्न शिविरमा पाटन अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. बिभूति शाही, चिकित्सक डा. बिपिन पौडेल र डा. गरिमा गिरीले स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श सेवा प्रदान गरेका थिए ।
शिविरमा स्थानीय महिला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । विशेषगरी महिलाको स्वास्थ्य जाँच, स्त्रीरोगसम्बन्धी समस्या तथा क्यान्सरसम्बन्धी परामर्श सेवामा सेवाग्राहीहरूले लाभ लिएका थिए ।
आयोजकका अनुसार शिविरबाट ६८ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन् ।
कार्यक्रमको स्थानीय व्यवस्थापन देउराली फाउण्डेशन, श्री मखमली महिला कृषि सहकारी संस्था दल्चोकी, ज्ञानज्योति आधारभूत विद्यालय दल्चोकी तथा तामाङ पत्रकार सङ्घ ललितपुरले गरेका थिए ।
आयोजकहरूले यस्ता स्वास्थ्य शिविरले दुर्गम ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।