मानव आवाज

२०८३ भदौ ३१ गते
00: 00: 00
२०८३ भदौ ३१ गते

सिन्धुलीमा निःशुल्क आँखा अपरेसन शिविर, ४९ जनाको मोतिबिन्दुको शल्यक्रिया

सिन्धुली । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाअन्तर्गत सञ्चालित सामुदायिक आँखा उपचार केन्द्रको आयोजनामा भएको दुईदिने निःशुल्क बृहत् आँखा अपरेसन शिविर सम्पन्न भएको छ ।

२०८३ भदौ २७ गते सम्पन्न शिविरमा मोतिबिन्दु भएका ४९ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले जनाएको छ ।

शिविरमा मोतिबिन्दुबाहेक अन्य आँखा सम्बन्धी समस्या भएका बिरामीको समेत परीक्षण तथा उपचार गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका सभापति अशोक श्रेष्ठको सक्रिय नेतृत्व तथा विशेष पहलमा सञ्चालन गरिएको शिविरबाट सिन्धुली जिल्ला तथा आसपासका ग्रामीण क्षेत्रका नागरिकले विशेषज्ञ चिकित्सकबाट सहज रूपमा आँखा उपचार सेवा प्राप्त गरेका छन् ।

शिविर सञ्चालनका लागि जानकी आँखा अस्पताल, जनकपुर, धनुषाले प्राविधिक सहयोग गरेको थियो । त्यस्तै, तिलगङ्गा आँखा प्रतिष्ठान, द फ्रेड हलोव फाउन्डेसन र अस्ट्रेलियन एडले आर्थिक तथा व्यवस्थापकीय सहयोग गरेका थिए ।

मोतिबिन्दुको शल्यक्रियासँगै अन्य आँखा रोगका बिरामीलाई आवश्यक परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो ।

त्यस्ता बिरामीका लागि नियमानुसार नामदर्ता, औषधि तथा चस्माको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

आर्थिक अभाव तथा भौगोलिक विकटताका कारण विशेषज्ञ आँखा उपचार सेवाबाट वञ्चित नागरिकका लागि यस्ता निःशुल्क शिविर प्रभावकारी बन्दै आएका छन् ।

शिविरबाट ग्रामीण क्षेत्रका नागरिकले आफ्नै जिल्लामा विशेषज्ञ सेवा पाउँदा उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम भएको आयोजकको भनाइ छ ।

Author

सम्बन्धित समाचार