मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

पोखरा मनपा-१५ मा निःशुल्क दन्त शिविर

पोखरा । पोखरा महानगरपालिका–१५ मा तीन दिने निःशुल्क दन्त परीक्षण शिविर सुरु भएको छ। पोखरा कम्युनिटी सेन्टरको आयोजना र वडा कार्यालयको समन्वयमा सुरु भएको शिविर साउन १५ गतेदेखि सञ्चालनमा आएको हो।

वडा अध्यक्ष तोरणबहादुर बानियाँका अनुसार शिविरमा अमेरिकाबाट आएको दन्त चिकित्सकहरूको टोलीले अत्याधुनिक प्रविधिबाट दन्त परीक्षण सेवा प्रदान गरिरहेको छ।

क्रिकल्याण्ड कर्नरस्टोन डेन्टल, अमेरिकाका डा. से जिन एनको नेतृत्वमा आएको १५ सदस्यीय टोलीले सेवा दिइरहेको जानकारी पोखरा कम्युनिटी सेन्टरका संयोजक प्रकाश पार्कले दिनु भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने शिविरबाट करिब ५ सय जना सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ। पहिलो दिनमै १ सय १० जनाले सेवा लिइसकेको वडा अध्यक्ष बानियाँले जानकारी दिनु भयो ।

गत वर्ष सिद्व माविमा सञ्चालन गरिएको दन्त शिविरमा ३ सय ५० जनाले सेवा लिएका थिए। वडावासीबाट सकारात्मक प्रतिक्रिया आएकोले यसपटक पनि कार्यक्रमलाई निरन्तरता दिइएको अध्यक्ष बानियाँको भनाइ छ।

शिविरका लागि अमेरिकाबाट ल्याइएका उपकरण भन्सार प्रक्रियामा अड्किएको भए पनि वडा कार्यालयको पहलमा समस्या समाधान गरी उपकरण नेपाल ल्याइएको संयोजक पार्कले बताउनु भयो ।

उहाँका अनुसार शिविरपछि ती औजारहरू सामाजिक सङ्घ–संस्थाको साझेदारीमा सुरक्षित राखिनेछ र त्यसै स्थानबाट आगामी दिनमा पनि निःशुल्क सेवा दिइनेछ।

सेवाग्राहीहरू उपचारको गुणस्तरप्रति सन्तुष्ट देखिएका छन्। “सामान्यतया निजी क्लिनिक वा अस्पतालमा ८–९ हजार रुपियाँ खर्च हुने उपचार निःशुल्क रुपमा घरमै पाउनु खुसीको कुरा हो ।”- एक सेवाग्राहीले प्रतिक्रिया दिए।

शिविर साउन १५ र १६ गते वडा कार्यालय अगाडिको भवनमा तथा साउन १८ गते सानिपाटनस्थित पोखरा कम्युनिटी सेन्टरमा सञ्चालन हुनेछ।

कार्यक्रम सफल बनाउन वडा सदस्यद्वय बलराम पौडेल र मन्दिरा परियार, स्वास्थ्यकर्मी तथा स्वयम्सेवकहरूको सक्रिय सहभागिता रहेको संयोजक पार्कले जानकारी दिनु भयो ।

Author

Related News