मानव आवाज

२०८२ फाल्गुन २६ गते
00: 00: 00
२०८२ फाल्गुन २६ गते

गण्डकी प्रदेश सभा भवनको शिलान्यास, तीन वर्षभित्र निर्माण सम्पन्न हुने

पोखरा  गण्डकी प्रदेशको स्थायी संसद् भवन निर्माण कार्यको शिलान्यास औपचारिक रूपमा सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका–१, नदीपुरस्थित ७ रोपनी क्षेत्रफलमा बन्ने उक्त भवनको शिलान्यास प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २०८२ भदौ ३ गते गर्नु भएको हो ।

अनुमानित २५ करोड ३७ लाख रुपियाँ लागतमा निर्माण गरिने भवनको काम २०८१ माघ १८ गते सम्झौता भइसकेको हो ।

तीन वर्षभित्र निर्माण सक्ने लक्ष्य लिइए पनि मुख्यमन्त्री पाण्डेले निर्माण कम्पनीलाई दुई वर्षमै काम सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि ९ करोड रुपियाँ बजेट विनियोजन गरिसकेको छ । मुख्यमन्त्री पाण्डेले प्रदेशको बहुवर्षीय योजनाअन्तर्गत आवश्यक बजेट हरेक वर्ष सुनिश्चित गरिने प्रतिबद्धता जनाउनु भएको छ  ।

भवन निर्माणको जिम्मा श्रेष्ठ एण्ड सन्स र इष्ट–वेष्ट जेभीले पाएका छन् । सभामुख कृष्णप्रसाद धितालका अनुसार भवन निर्माणको योजना कार्यान्वयन सहरी विकास तथा भवन कार्यालय कास्कीले गर्ने छ ।

“निर्माण अवधि तीन वर्षको भए पनि दुई वर्षमै सकिदिनुस् ।”-सभामुख धितालले भन्नु भयो-“हाम्रै कार्यकालमा सभा बस्न मिल्ने गरी काम गरिदिनुहोस् ।”

निर्माण कम्पनीले दिनरात दुई सिफ्टमा काम गरेर तोकिएको समयभन्दा अगावै भवन सम्पन्न गर्ने दाबी गरेको छ ।

गण्डकी प्रदेश सभाका सचिव हरिराज पोखरेलका अनुसार निर्माणस्थलमा अहिले जग्गा सम्याउने र डन्डी तेर्स्याउने प्रारम्भिक काम भइरहेको छ ।

यसअघि संसद् भवन निर्माणका लागि १ अर्ब ५० करोड रुपियाँ लागतको डीपीआर तयार पारिएको थियो ।

तर, कार्यान्वयन कठिन भएकाले नयाँ डीपीआरअनुसार योजना अघि बढाइएको हो । २०८१ साउन २१ गते बोलपत्र आह्वान गर्दा ३५ निर्माण कम्पनीले प्रस्ताव पेस गरेका थिए ।

तीमध्ये २६ कम्पनी छानिए पनि सबैभन्दा कम लागतमा काम गर्ने कम्पनीलाई छनोट गरिएको हो ।

यस्तो हुनेछ भवनको संरचना

निर्माण हुने भवन तीन तले हुनेछ । भुइँतलामा पाँच संसदीय दलका कार्यालय र मुख्यमन्त्री, सभामुख, उपसभामुख, प्रतिपक्षी दलका नेता तथा संसद् सचिवका लागि भीआईपी कार्यालय रहनेछन् ।

माथिल्लो तलामा ७८ जना अट्ने बैठक कक्ष, ८० सिट क्षमताको दर्शक दीर्घा, सामान्य तथा भीआईपी कक्ष, कार्यव्यवस्था परामर्श समितिको बैठक कक्ष, लाइब्रेरी, भिडियो कन्फरेन्स हल र टेलिभिजन स्टुडियो निर्माण गरिनेछ । साथै पार्किङ र चमेना गृहको पनि व्यवस्था गरिनेछ ।

हाल गण्डकी प्रदेश सभा पोखरास्थित नगर प्रशिक्षण केन्द्रको हलमा सञ्चालन हुँदै आएको छ । भवन साँघुरो र असहज भएपछि नयाँ स्थायी भवन निर्माण थालिएको हो ।

Author

Related News