रुद्रबहादुर खड्का, सिन्धुली ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका-६, घोकसीलाको पोखरी गाउँस्थित मङ्गलादेवी माध्यमिक विद्यालयमा नयाँ आठ कोठे पक्की विद्यालय भवन निर्माण कार्यको शिलान्यास गरिएको छ ।
भवन निर्माणको कुल लागत रु. १ करोड ७० लाख ९ हजार ५ सय ५ रुपियाँ ११ पैसा रहने बताइएको छ ।
गाउँपालिकाका सूचना अधिकारी शरद प्याकुरेलका अनुसार भवन निर्माण गोलञ्जोर गाउँपालिकाको समन्वयमा, ब्याकट लाइफ इभी जर्मनी र कम्युनिटी टेक्नोलोजी डिभलपमेन्ट सर्भिस सिन्धुलीको आर्थिक तथा प्राविधिक सहयोगमा हुनेछ ।
गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले मङ्गलादेवी माविसँगै वडा नं. ४ स्थित बत्सला माध्यमिक विद्यालय र सिद्धेश्वरी प्राथमिक विद्यालयमा पनि आठआठ कोठे भवन निर्माणको योजना रहेको जानकारी दिनु भयो ।
शिलान्यास समारोहमा मन्तव्य राख्दै गाउँपालिकाका अध्यक्ष शङ्करराज बरालले ग्रामीण क्षेत्रका बालबालिकालाई शिक्षा उपलब्ध गराउन पक्की भवन निर्माण गरिएको बताउनु भयो ।
उहाँले भन्नु भयो-“ग्रामीण बालबालिकालाई पठनपाठनका लागि सुरक्षित र अनुकूल वातावरण उपलब्ध गराउने हाम्रो उद्देश्य हो । गुणस्तरीय र प्रविधिमूलक शिक्षा आजको आवश्यकता हो ।”
बरालले शिक्षकहरूलाई डिजिटल माध्यमबाट शिक्षण अध्ययन प्रणाली सुदृढ बनाउन आग्रह गर्दै गाउँपालिकाले विद्यालयहरूलाई बालमैत्री र प्रविधिमैत्री विद्यालयका रूपमा विकास गर्ने लक्ष्य लिएको उल्लेख गर्नु भयो ।
संविधानले प्रत्येक बालबालिकालाई निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै अध्यक्ष बरालले यस लक्ष्य प्राप्तिका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनु भयो।