मानव आवाज

२०८३ भदौ १५ गते
00: 00: 00
२०८३ भदौ १५ गते

सुनकोशीमा १५ शैयाको अस्पताल शिलान्यास

सिन्धुली सुनकोशी गाउँपालिका-३, झाँगाझोली रातमाटामा १५ शैयाको आधारभूत अस्पताल भवन निर्माण सुरु भएको छ ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा दाहाल र उपाध्यक्ष कपिलकुमार कोइरालाले आइतबार पूजापाठसहित अस्पताल भवनको शिलान्यास गरेसँगै निर्माण कार्य सुरु भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले करिब पाँच-६ वर्षअघि नै १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने प्रयास थालेको थियो ।

तर, आवश्यक जग्गाको अभावलगायत विभिन्न प्रशासनिक तथा प्रक्रियागत समस्याका कारण लामो समयसम्म भवन निर्माणको काम अघि बढ्न सकेको थिएन ।

लामो प्रयासपछि आवश्यक समस्या समाधान गर्दै गाउँपालिकाले अस्पताल भवन निर्माणको काम अघि बढाएको हो ।

अस्पताल निर्माणका लागि वडा नम्बर ३ स्थित झाँगाझोली रातमाटामा घोर्मादेवी कबुलियत वन र रमादेवी सामुदायिक वन उपभोक्ता समितिको ७ रोपनी २ आना जग्गा सङ्घीय सरकारबाट प्राप्त भएपछि सोही जग्गामा भवन निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

आवश्यक जग्गा प्राप्त गर्ने प्रक्रिया तथा विभिन्न प्रशासनिक समस्याका कारण अस्पताल निर्माणमा ढिलाइ भएको गाउँपालिकाको भनाइ छ ।

२०७४ सालको स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित भएलगत्तै अस्पताल निर्माणका लागि निरन्तर प्रयास गरे पनि जग्गा अभावका कारण काम अघि बढाउन नसकिएको गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालले बताउनुभयो ।

स्थानीय तहको दोस्रो निर्वाचनपछि पनि गाउँपालिकाको नेतृत्व गर्ने अवसर पाएसँगै अस्पताल निर्माणका लागि निरन्तर पहल गर्दै आएको र अहिले भवन निर्माणको चरणमा पुग्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कपिलकुमार कोइरालाले अस्पताल भवन निर्माण सुरु गर्ने चरणसम्म ल्याउन लामो समयदेखि मेहनत गर्नुपरेको बताउनुभयो ।

उहाँले सम्झौता अवधिभित्रै गुणस्तरीय निर्माण सामग्री प्रयोग गरी भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले अस्पताल भवन निर्माणको काम गुणस्तरीय बनाउन पालिकाको तर्फबाट कुनै कसर बाँकी नराखिने बताउनुभयो ।

निर्माण कार्य तोकिएको मापदण्डअनुसार गुणस्तरीय बनाउन स्थानीय नागरिक र गाउँपालिका निकट रहेर अनुगमन तथा निरीक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

शिलान्यास कार्यक्रम सुनकोशी गाउँपालिका-३ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अस्पताल भवन निर्माणका लागि १६ करोड ६३ लाख ५६ हजार ६३ रुपियाँ लागतमा सुवेदी-की वेस्ट जेभी, मन्थली-१, रामेछापले ठेक्का पाएको छ । गाउँपालिका र निर्माण कम्पनीबिच २०८२ पुस २५ गते नै निर्माण सम्झौता भएको हो ।

सम्झौताअनुसार निर्माण कम्पनीले २०८४ पुस २५ गतेभित्र अस्पताल भवन निर्माण सम्पन्न गर्नुपर्नेछ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार