पोखरा। गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख तथा प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, नेपाली कांग्रेसका अग्रज नेता पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ।
गुरुङको निधन २०८२ साउन १० गते चितवनको भरतपुर महानगरपालिका–२६, दिव्यनगरस्थित आफ्नै निवासमा भएको पारिवारिक स्रोतले जनाएको छ।
राजनीतिक जीवनको उत्तरार्धमा उनले २०७८ साउनदेखि २०७९ फागुनसम्म गण्डकी प्रदेशको प्रमुखको जिम्मेवारी वहन गर्नु भएको थियो ।
वि.सं. २००६ सालमा कास्की जिल्लाको ल्वाङघलेलमा जन्मिनु भएका गुरुङले चितवनलाई आफ्नो राजनीतिक कर्मभूमि बनाउनु भएको थियो ।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय उहाँ वि.सं. २०२९ मा नेपाली कांग्रेसमा आवद्ध भई लोकतान्त्रिक आन्दोलनमा होमिनु भएको थियो ।
पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षमा करीब तीन वर्ष जेल जीवन व्यतित गर्नु भएका गुरुङ निष्ठा, त्याग र सादगीका प्रतीक मानिनुहुन्थ्यो।
जीवनभर पद र शक्तिको लोभ नगरी पार्टी र लोकतन्त्रप्रति समर्पित गुरुङले लामो समय नेपाली कांग्रेस चितवनको सचिव र दुई कार्यकाल जिल्ला सभापति भएर नेतृत्व गर्नु भएको थियो । उहाँ पार्टीको केन्द्रीय सदस्य समेत बन्नु भएको थियो ।
प्रदेश प्रमुखको जिम्मेवारीबाट बाहिरिएलगत्तै उहाँलाई क्यान्सर रोग देखिएको थियो। भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराइए पनि उहाँको स्वास्थ्यमा सुधार आउन सकेन। पछिल्ला दिनमा उहाँ चितवनको दिव्यनगरस्थित आफ्नै घरमा आराम गरिरहनु भएको थियो ।
उहाँको निधनमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले एक शोक सन्देश जारी गर्दै दुःख व्यक्त गर्नु भएको छ ।

गुरुङको अन्त्येष्टि २०८२ साउन ११ गते चितवनको देवघाटमा गरिने नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले जानकारी दिनु भएको छ ।