काठमाडौँ । बङ्गलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ ।
बङ्गलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्युनल (आईसीटी) ले २०८२ मङ्सिर १ गते हसिनासहित उहाँको मन्त्रिपरिषदका आन्तरिक मामिलामन्त्री असदुज्जमान खान र तत्कालीन प्रहरी प्रमुख चौधरी अबुल्लाह अल–मामुनलाई गत वर्षको घटनामा दोषी ठहर गरेको बीबीसीले जनाएको छ । भारतमा निर्वासनमा रहहनु भएकी हसिनाको अनुपस्थितिमै यो मुद्दा चलाइएको थियो ।
गत जुलाई–अगस्टमा भएको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनमा १ हजार ४ सय जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले अनुमान गरेको छ जसमध्ये धेरैजसो सुरक्षा बलको गोलीबाट मारिएका थिए ।
यो प्रदर्शनमा हिंसात्मक दमनको आदेश दिन हसिना जिम्मेवार रहेको अदालतले ठहर गरेको छ । हसिनाले आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आउनु भएको छ ।
यही प्रदर्शनका कारण हसिनाले सत्ता छाड्नुपरेको थियो र त्यसबेलादेखि उहाँ भारतमा निर्वासनमा बस्दै आउनु भएको जनाइएको छ ।
बङ्गलादेश टेलिभिजनले मुख्य न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा रहेको तीन सदस्यीय बेन्चबाट फैसला प्रत्यक्ष प्रसारण गरेको थियो ।
बेन्चका अन्य दुई सदस्यमा न्यायाधीश मोहम्मद सोफिउल आलम महमुद र न्यायाधीश मोहम्मद मोहितुल हक इनाम चौधरी रहनुभएको थियो ।
फैसलाअघि अदालत परिसर तथा वरिपरि उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाइएको थियो । आईसीटीले पाँच ओटा अभियोगमा उहाँहरूलाई दोषी ठहर गरेको छ ।
जसमा ढाकामा प्रदर्शनकारीहरूको सामूहिक हत्या, भीडमाथि गोली चलाउन ड्रोन र हेलिकप्टर प्रयोग, विद्यार्थी कार्यकर्ता अबु सैयदको हत्या, आशुलियामा शव जलाएर प्रमाण नष्ट गर्ने र चन्खरपुलमा विद्यार्थीहरूको हत्या समावेश छन् ।
मुद्दाको औपचारिक कागजात ८ हजार ७ सय ४७ पृष्ठका रहेका छन् जसमा सन्दर्भहरू, जफत सामग्री तथा पीडितहरूको विस्तृत विवरण समावेश गरिएको जनाइएको छ । (फोटोः बीबीसीबाट)