मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सङ्कटको निकासका लागि बामपन्थी एकतामा पूर्व प्रधानमन्त्री नेपालको जोड

रुद्रबहादुर खड्का, सिन्धुली ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले देशमा देखिएको राजनीतिक, सामाजिक र आर्थिक सङ्कटको निकासका लागि बामपन्थी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

तीनपाटन गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय मझुवा दोभानको ५१औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले एकताको सन्देशले मात्र देशलाई स्थायित्व, सुशासन र समृद्धिको दिशामा अघि बढाउन सकिने बताउनु भयो ।

उक्त अवसरमा विद्यालयमा निर्माण गरिएको २४ कोठे नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले आजको आवश्यकता प्रविधिमैत्री शिक्षा भएको उल्लेख गर्नु भयो ।

दुर्गम तथा ग्रामीण क्षेत्रसम्म शिक्षाको पहुँच विस्तार गर्न राज्यको स्पष्ट दायित्व रहेको उहाँको भनाइ थियो ।

“शिक्षा क्षेत्रमा देखिएका समस्याहरू अझै जस्ताको तस्तै छन्, तिनको समाधान गर्नु सरकारको जिम्मेवारी हो ।”-उहाँले भन्नु भयो-“स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबिच सहकार्य र समन्वय बिना शैक्षिक गुणस्तर सुधार सम्भव छैन ।”

विद्यालय तहको पाठ्यक्रममा स्थानीय विषयवस्तु समावेश गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसले विद्यार्थीको सिकाइ उपलब्धि र अध्ययन वातावरण सुधार हुने बताउनु भयो ।

साथै शिक्षक तथा शैक्षिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने तालिम कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा विद्यालयमा सेवा गरी अवकाश प्राप्त शिक्षकहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो । साथै विद्यार्थीहरूले प्रस्तुत गरेको सांस्कृतिक नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

एक फरक प्रसङ्गमा पूर्व प्रधानमन्त्री नेपालले वर्तमान राजनीतिक परिस्थिति र संगठनात्मक निकासका विषयमा चर्चा गर्दै बामपन्थी घटकहरू मिलेर नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको स्पष्ट पार्नु भयो ।

उहाँले राजनीतिक अस्थिरता, युवा पुस्ताको आक्रोश, तथा विगतमा भएका हिंसात्मक घटनाले देश संकटमा परेको उल्लेख गर्दै शान्ति, विकास, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि एकताबद्ध कम्युनिष्ट शक्ति आवश्यक भएको बताउनु भयो ।

नेकपा एमालेले फैलाएको भ्रम र त्रास चिर्न सकिए मात्र देशले उपलब्धि हासिल गर्न सक्ने उहाँको जिकिर थियो ।

“विचार र सिद्धान्त बलियो भए पार्टी बलियो हुन्छ ।”-उहाँले भन्नु भयो-“अराजकता होइन, संयम र अनुशासनबाट जनताको मन जित्न सकिन्छ ।”

नेपाली कम्युनिष्ट पार्टी सहिदहरूको त्याग, बलिदान र सङ्घर्षबाट निर्माण भएको उल्लेख गर्दै उहाँले प्रविधिको प्रयोग मात्र होइन, ऐतिहासिक चेतना र भविष्यसँग संवाद गर्न सक्ने क्षमता नै पार्टीको बलियो आधार भएको बताउनु भयो ।

मोबाइल प्रविधि र विश्वव्यापी चेतनासँग हुर्किएको जेन–जी युवा पुस्ता नेपाली कम्युनिष्ट पार्टीप्रति आकर्षित भएको दाबी गर्दै उहाँले ठूलो सङ्ख्यामा युवाहरू पार्टीसँग आबद्ध रहेको जानकारी दिनु भयो ।

“पार्टीको विचार सही छ, भविष्य छ भन्ने विश्वास जेन–जी युवाहरूले व्यक्त गरेका छन् ।”-उहाँले भन्नु भयो ।

युवाहरूले उठाएका गुनासाहरू आम नागरिककै गुनासो भएको उल्लेख गर्दै उहाँले विभिन्न राजनीतिक दलका कार्यक्रममा देखिएको जनसहभागिताले जनतामा अझै पनि राजनीतिक दलप्रति विश्वास कायम रहेको स्पष्ट हुने बताउनु भयो ।

राजनीतिक दलहरू जनताबाट टाढा भइसकेका छन् भन्ने भाष्य गलत भएको उहाँको ठम्याइ थियो ।

आगामी फागुन महिनामा हुने प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा उहाँले निर्वाचनको मिति परिवर्तन भए स्वीकार्य हुन सक्ने तर चुनाव नै आलटाल गर्ने प्रवृत्ति अस्वीकार्य हुने स्पष्ट पार्नु भयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश कुमार रमौलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा जिल्ला स्तरीय प्रमुख एवम् प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ ।

Author

Related News