पोखरा । नेपाल गृह श्रमिक सङ्घ केन्द्रीय समितिको आयोजनामा तथा कास्की शाखाको समन्वयमा गृह श्रमिक महिलाहरुका लागि पाँचदिने सीपमूलक तालिम २०८२ कात्तिक २८ गते पोखरामा सुरु गरिएको छ ।
तालिम उद्घाटन गर्दै सङ्घकी केन्द्रीय अध्यक्ष राजकली सिंह ठकुरीले गृह श्रमिक महिलाको आर्थिक सबलीकरणका लागि सीप अत्यावश्यक हुने बताउँदै, तालिमले महिलालाई आयआर्जनमा सक्षम बनाउने विश्वास व्यक्त गर्नु भयो ।
उहाँका अनुसार तालिममा धूपसहित घर–परिवारमा उपयोगी सामग्री उत्पादनका सीप सिकाइनेछ ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकीका अध्यक्ष मुरारी शर्मा, नेपाल किसान सङ्घकी केन्द्रीय सदस्य गीता भट्टराई, ट्रेड युनियन कांग्रेस प्रदेश सचिव रुद्र तिमिल्सिना, प्रदेश सदस्य शिवराज अधिकारी र पत्रकार कमल पौडेल ‘अथक’ लगायतले शुभकामना दिनुभएको थियो ।
तालिमको अवसरमा सङ्घलाई निरन्तर सहयोग गर्ने १० जना व्यक्तित्वलाई खादा, माला, टीका र दोस्लासहित सम्मान गरिएको थियो ।
सम्मानितहरूमा मुरारी शर्मा, राजकली सिंह ठकुरी, उर्मिला गिरी, रुद्र तिमिल्सिना, गीता भुसाल, शिवराज अधिकारी, कमल पौडेल ‘अथक’, राजेश बुढामगर, अधिवक्ता माधवी पाण्डे र राधिका कुमाल रहेका छन् ।
केन्द्रीय अध्यक्षसहित केन्द्रबाट आएका टिमले कास्की शाखा अध्यक्ष चेतमाया पङ्गेनी (गीता) लाई पनि सम्मान गरेका थिए ।
तालिममा ४० जना गृह श्रमिक महिलाको सहभागिता रहेको सङ्घकी केन्द्रीय उपाध्यक्ष लालीमाया शर्मा रेग्मीले जानकारी दिनु भयो ।
उद्घाटन सत्र कास्की शाखा अध्यक्ष चेतमाया पङ्गेनी (गीता) को अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन सचिव ज्ञानु श्रेष्ठले गर्नुभएको थियो ।