पोखरा । “नेपालको राष्ट्रिय फल सुन्तलाको उपभोग स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग” भन्ने नारासहित प्रथम सुन्तला महोत्सव–२०८२ पोखरा महानगरपालिका–२१, दोपहरे, हर्राबोटमा २०८२ पुस १० गते सम्पन्न भएको छ ।
एकदिने महोत्सव पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गत कृषि विकास शाखा, वडास्तरीय कृषि सञ्जाल पोखरा–२१ तथा पोखरा महानगरपालिका वडा नं. २१ कार्यालयको संयुक्त आयोजनामा गरिएको हो ।
महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वडा नं. २१ र २२ लाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको जानकारी दिँदै मल, बिउ तथा सिंचाइमा महानगरले निरन्तर सहयोग गरिरहेको बताउनु भयो ।
उहाँका अनुसार महानगरको वार्षिक कार्ययोजनाअन्तर्गत आगामी वर्षदेखि हरेक वर्ष डिसेम्बर २५ (क्रिसमस) का दिन सुन्तला महोत्सव आयोजना गरिनेछ ।
प्रमुख आचार्यले सुन्तलाको व्यवसायीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्दै कृषिको प्रवर्धनमा महानगर प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो ।
कृषकलाई थप प्रोत्साहनस्वरूप महोत्सवका दिन प्रतिकेजी १ सय रुपियाँ मूल्य कायम गरिएको र कुल कारोबार रकमको १० प्रतिशत महानगरबाट अनुदानस्वरूप प्रदान गरिएको जानकारी पनि उहाँले दिनु भयो ।

पोखरा उद्योग वाणिज्य सङ्घकी महासचिव शोभा गौतमले स्थानीय कृषकले उत्पादन गरेका वस्तु उपभोक्ताले प्रत्यक्ष रूपमा प्राप्त गर्न पाउनु सकारात्मक भएको बताउँदै सहुलियत मूल्यमा बिक्री–वितरण हुँदा उत्पादन बढाउन यस्ता महोत्सवले थप ऊर्जा दिने धारणा राख्नु भयो ।
पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले सुन्तला उत्पादक किसान र उत्पादनको व्यवसायीकरणमा महानगरले आवश्यक सहयोग गर्ने स्पष्ट पार्नु भयो ।
उहाँले सुन्तलाको ग्रेडिङ आवश्यक रहेको बताउँदै यसले किसानलाई घाटा होइन, फाइदा पुर्याउने उल्लेख गर्नु भयो । ग्रेडिङ तथा चिस्यान केन्द्र निर्माणका लागि महानगर तयार रहेको उहाँको भनाइ थियो।
गण्डकी प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीले सुन्तलाको उत्पादन वृद्धि गर्न प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
पोखरा महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष दीपक सुवेदीको अध्यक्षतामा सम्पन्न महोत्सवमा उत्कृष्ट तीन कृषकलाई सम्मान गरिएको थियो ।
साथै सुन्तला ग्रेडिङ प्रतियोगिता र सुन्तला खाने प्रतियोगिता आयोजना गरी विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो ।