पोखरा । “नेपालको राष्ट्रिय खेल भलिबल”, “एकता हाम्रो शक्ति, मित्रता हाम्रो पहिचान” भन्ने नारासहित फ्रेन्डसीप युवा एकता द्वारा संस्था स्थापनाको अवसरमा ‘प्रथम फ्रेन्डसीप कप-२०८३’ (क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता) आयोजना गरिएको छ ।
प्रतियोगिता २०८३ जेठ १३ गतेदेखि जेठ १७ गतेसम्म पोखरा प्रशिक्षण केन्द्रको खेल मैदान (छन्त्याल समाज), पोखरा महानगरपालिका-३, नदीपुरमा सञ्चालन हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न विशेष सहयोगीका रूपमा पोखरा भलिबल प्रशिक्षण केन्द्र रहेको छ भने मिडिया पार्टनरमा खेल खबर रहेको आयोजकले जनाएको छ ।
पोखरामा खेलकुदको विकास गर्दै युवाहरूलाई सकारात्मक गतिविधितर्फ प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष टुकबहादुर गुरुङले २०८३ जेठ १० गते आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढाइएको छ ।
क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि दर्ता शुल्क ७ हजार रुपियाँ तोकिएको छ ।
टिम दर्ताको अन्तिम समय २०८३ जेठ ११ गते बिहान ११ बजेसम्म रहनेछ । हालसम्म आठ ओटा टिम दर्ता भइसकेको प्रशिक्षक मनोज खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेता टिमहरूलाई नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।
- प्रथम पुरस्कार : १ लाख ५० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र
- द्वितीय पुरस्कार : १ लाख रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र
- तृतीय पुरस्कार : ५० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र
- सान्त्वना पुरस्कार : १५ हजार रुपियाँसहित प्रमाणपत्र
यसका साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर तथा उदीयमान खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
अध्यक्ष गुरुङका अनुसार युवाहरूलाई कुलत, हिंसा तथा सामाजिक विकृतिबाट टाढा राख्दै राष्ट्रिय खेल भलिबलको संरक्षण र प्रवर्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो ।
प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख ५० हजार रुपियाँ खर्च अनुमान गरिएको छ । आयोजकका अनुसार प्रतियोगिता प्रत्यक्ष रूपमा करिब १५ हजार दर्शकले मैदानमा अवलोकन गर्ने तथा २० हजारभन्दा बढीले विभिन्न सञ्चार माध्यममार्फत खेल हेर्ने अपेक्षा गरिएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कुशल छन्त्यालले खेलकुदसँगै विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिएकाले प्रतियोगिताले सामाजिक सद्भाव कायम गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।