पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलोपटक रिसाइक्लिङ र अपसाइक्लिङसम्बन्धी दुईदिने मेला आयोजना हुने भएको छ।
‘फोहोरलाई मोहोर बनाउने’ मूल नाराका साथ आरयू फेष्ट २०२५ नामक यो मेला साउन १६ र १७ गते पोखरा–६, बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा हुने पोखरा महानगरपालिकाले जनाएको छ।
पोखरा महानगरपालिकाको आयोजना, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को प्राविधिक सहकार्यमा सञ्चालित ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’ अन्तर्गत मेलाको आयोजना गरिएको हो।
महानगरका प्रमुख धनराज आचार्यका अनुसार फेस्टिभल सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि सहयोगी हुने लक्ष्यका साथ आयोजना गरिएको हो।
उनले पोखरालगायत देशभरको हरित विकासमा यो मेला एक नवीनतम प्रयास बन्ने विश्वास व्यक्त गरे।
मेलामा देशभरिका नवप्रवर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो, जलवायु परिवर्तन, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र ‘प्लास्टिक टु रोड’ प्रविधिसम्बन्धी संवाद, युवाका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधि तथा दक्षिण कोरियाको अनुभवमाथि विशेष संवाद सत्र हुने छन्।
मेलाबाट नेपालका मौलिक सीप तथा दक्षिण कोरियाको चक्रीय अर्थतन्त्रसम्बन्धी सकारात्मक प्रभाव र प्रेरणादायी अनुभव आदानप्रदान हुने महानगरका इञ्जिनियर तथा परियोजनाका फोकल पर्सन नेत्रप्रसाद तिमल्सिनाले जानकारी दिए।
उनका अनुसार परियोजनाअन्तर्गत पोखरामा कोइकाको ९.८ मिलियन अमेरिकी डलर र युएनडीपीको ०.८७ मिलियन डलर अर्थात् करिब १ करोड ४४ लाख रुपियाँ बराबरको लगानीमा ‘जिभिजेड सेन्टर’ निर्माण भइरहेको छ ।

नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा ‘कोसेली घर’ निर्माणको काम पनि अगाडि बढाइएको छ।
महानगरका ३३ ओटै वडाबाट १ सय ३६ ओटा सामुदायिक समूहहरू गठन गरी आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण दिइएको छ। हाल पोखरामा दैनिक औसत १ सय ७६ टन फोहोर उठ्ने गरेको छ ।
परियोजना अन्तर्गत आगामी दुई वर्षमा ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताउँदै इञ्जिनियर तिमल्सिनाले विद्यार्थी, उद्यमी, नीतिनिर्माता र सरोकारवालाहरूलाई मेलामा सहभागिता जनाई पोखरालाई हरित, दिगो र स्मार्ट सहर बनाउने यात्रामा साथ दिन आह्वान गरेका छन् ।
महानगरले परियोजनाको दीर्घकालीन प्रभाव सुनिश्चित गर्न त्यसको स्वामित्व ग्रहण गर्दै हरित उद्यमलाई प्रवर्धन गर्ने नीति अपनाउने जनाएको छ ।
