सिन्धुली । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिन्धुलीबाट सहयोगको हात अघि बढाइएको छ ।
मरिण गाउँपालिकासहित सिन्धुलीका दुई शैक्षिक संस्थाले रसुवाका बाढीपीडितका लागि कुल ५ लाख ५ हजार रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
मरिण गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट तत्काल मानवीय सहायतास्वरूप २ लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले जानकारी दिनुभयो ।
अध्यक्ष मुक्तानका अनुसार बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएकाले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले उक्त रकम उपलब्ध गराउन लागेको हो ।
यसैगरी, भगवती माध्यमिक विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५ हजार रुपियाँ सहयोग गरेको छ ।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयले उक्त रकम प्रदान गरेको जनाएको छ ।
त्यस्तै, सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले रसुवाका बाढीपीडितका लागि २ लाख रुपियाँ सहयोग गरेको छ ।
रसुवामा बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा सिन्धुलीबाट भएको आर्थिक सहयोगले प्रभावित परिवारको तत्कालीन राहत तथा पुनःस्थापनामा केही टेवा पुग्ने अपेक्षा गरिएको छ ।