रुद्रबहादुर खड्का, सिन्धुली ।
मरिण गाउँपालिकामा पाँचौँ मरिण महोत्सव पुस ९ गतेदेखि सुरु भएको छ । “कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला” समेटिएको महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुने ।
मरिण गाउँपालिकाको आर्थिक सहयोग र सिन्धुली उद्योग वाणिज्य सङ्घ, मरिण शाखाको आयोजनामा महोत्सव मरिण गाउँपालिका–४, साहानस्थित खेल मैदानमा भइरहेको छ ।
उद्घाटन सत्रका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलता प्रवर्द्धन र मरिणको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको बताउनु भयो ।
उहाँले कृषि तथा औद्योगिक विकासमा जोड दिँदै स्थानीय उत्पादन, उद्योग–व्यापार, पर्यटन र कला–संस्कृतिको संरक्षण तथा प्रवर्धनका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नु भयो ।
अध्यक्ष मुक्तानका अनुसार मरिण गाउँपालिकाभित्र रहेको पञ्चकन्या पोखरीलगायत ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका स्थल तथा माछा, तामा, खाद्यान्न, फलफूल, तरकारी र नगदेबालीजस्ता स्थानीय उत्पादनको संरक्षण–प्रवर्धनमार्फत गाउँपालिकालाई पर्यटकीय हबका रूपमा विकास गरी आन्तरिक आय वृद्धि गर्ने नीति लिइएको छ ।
पर्यटनलाई आर्थिक गतिविधि, रोजगारी र स्थानीय उत्पादनसँग जोड्ने लक्ष्य रहेको उहाँले स्पष्ट पार्नु भयो ।
उहाँले निजी तथा सहकारी क्षेत्रलाई प्रोत्साहन गर्दै लघु, साना र मझौला उद्योग स्थापना र विकासमा जोड दिइने, कृषिलाई आधुनिकीकरण र औद्योगिकीकरण गरिने तथा बेरोजगार युवालाई सीप विकासमार्फत कृषिमा रोजगारी उपलब्ध गराइने नीति रहेको बताउनु भयो ।
साथै, उद्यमीका उत्पादनको सङ्कलन र बजारीकरणमा गाउँपालिकाले सहयोग गर्ने र वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै स्थानीय स्वरोजगारी सिर्जनामा जोड दिने नीति रहेको जानकारी दिनु भयो ।
चीनमा भैँसीको मासु निर्यातका लागि मरिणमा उद्योग सञ्चालनको तयारी भइरहेको उल्लेख गर्दै यसले समृद्धिको ढोका खोल्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रमकी विशिष्ट अतिथि तथा उपाध्यक्ष विमला माझीले महोत्सवले मरिण क्षेत्रका मौलिक संस्कृति, कला, परम्परा र स्थानीय उत्पादनको बिक्री–वितरणमा सहयोग पुर्याउने बताउँदै महोत्सव उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले मधुबनी डाँडाबाट भ्यू टावर निर्माण र प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले गाउँमै रोजगारी र समृद्धि सम्भव रहेको उल्लेख गर्दै कृषि, पर्यटन, व्यवसाय र प्रविधिमा जोड दिन आग्रह गर्नु भयो ।
जबाफदेहिता, पारदर्शिता र भ्रष्टाचारमुक्त विकासमार्फत समृद्धिको यात्रामा अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
त्यसैगरी, उद्योग वाणिज्य सङ्घ मरिण शाखाका अध्यक्ष चिनध्वज बम्जनले कृषि–पर्यटन प्रवर्द्धन र व्यावसायीकरणलाई प्राथमिकता दिँदै मौलिक परम्परा, जातीय भेषभूषा, परिकार, लोपोन्मुख जातिको जीवनशैली र ऐतिहासिक सम्पदाको वृत्तचित्र निर्माणलगायत कार्यक्रममार्फत पर्यटन प्रवर्धन गरिने जानकारी दिनु भयो ।
महोत्सवलाई केवल उत्सव नभई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको सशक्त माध्यमका रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो ।
महोत्सवमा कृषिजन्य उत्पादन, हस्तकला, स्थानीय मौलिक उत्पादन तथा विभिन्न सीपमूलक स्टल राखिएका छन् ।
बाँसका सामग्री, दुग्धजन्य उत्पादन, ढाका तथा अल्लोका कपडा र सिन्धुलीका मौलिक उत्पादनको प्रतियोगितात्मक प्रदर्शनी प्रमुख आकर्षण रहनेछ ।
साथै, सूचना प्रविधि, अटोमोबाइल्स, वित्तीय तथा अन्य सेवा प्रदायक संस्थाले आफ्ना सेवा–सुविधा प्रदर्शन गर्नेछन् ।
पर्यटन प्रवर्धनका लागि मधुबनी डाँडाबाट प्याराग्लाइडिङ, मरिणको प्रसिद्ध माछा र तामाका सामग्री प्रदर्शन, पञ्चकन्या पोखरी अवलोकन, मिश्रित सांस्कृतिक झाँकी, अन्तरविद्यालय नृत्य प्रतियोगिता तथा ख्यातिप्राप्त कलाकारहरूको साङ्गीतिक प्रस्तुति पनि समावेश गरिएको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, राजनीतिक दलका प्रतिनिधि, सङ्घ–संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ ।