रुद्रबहादुर खड्का, सिन्धुली ।
मरिण गाउँपालिका वडा नम्बर ४ साहानमा सञ्चालन भएको पाँचौँ मरिण महोत्सव २०८२ पुस २२ गते सम्पन्न भएको छ ।
कृषि, पर्यटन, संस्कृति, सूचना प्रविधि तथा व्यापार प्रवर्धन गर्ने उद्देश्यसहित गत पुस ९ गतेदेखि महोत्सव सञ्चालन गरिएको थियो ।
सिन्धुली उद्योग वाणिज्य सङ्घ मरिण शाखाका अध्यक्ष चिनध्वज बम्जनको अध्यक्षता तथा मरिण गाउँपालिकाका उपाध्यक्ष बिमला माझीको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा महोत्सव औपचारिक रूपमा समापन गरिएको हो ।
समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष माझीले शान्त र सौहार्दपूर्ण वातावरणमा महोत्सव सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै यसले जिल्लाभर सकारात्मक सन्देश प्रवाह गरेको बताउनु भयो ।
अध्यक्ष बम्जनले महोत्सव अवधिभर हजारौँ दर्शकको उल्लेख्य सहभागिता रहेको भन्दै आयोजक टोलीप्रति धन्यवाद व्यक्त गर्नु भयो ।
महोत्सवमा ७५ भन्दा बढी स्टलमार्फत कृषिजन्य उत्पादन, हस्तकला, स्थानीय मौलिक वस्तु तथा विभिन्न सेवामूलक सामग्रीहरूको प्रदर्शन गरिएको थियो ।
साथै बाल उद्यान, सर्कस, झूला, पिङ, मौतकुवा लगायतका मनोरञ्जनात्मक गतिविधिहरूले दर्शकलाई आकर्षित गरेको आयोजकले जनाएको छ ।