रुद्रबहादुर खड्का, सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिकामा रहेको मरिण आधारभूत अस्पतालमा आँखा उपचार इकाई उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । २०८२ चैत ४ गते आयोजित एक कार्यक्रमबिच उक्त इकाईको औपचारिक उद्घाटन गरिएको हो ।
तिलगङ्गा आँखा प्रतिष्ठान तथा गुड भिजन नेपालको सहयोगमा सञ्चालनमा आएको यो आँखा उपचार केन्द्रबाट मरिण गाउँपालिकासहित हरिहरपुरगढी गाउँपालिका, कमलामाई नगरपालिका, घ्याङलेख गाउँपालिका लगायत आसपासका क्षेत्रका नागरिकहरूले सहज रूपमा सेवा लिन सक्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले यस इकाई सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई आँखाको उपचारमा ठूलो सहजता हुने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले विशेष गरी पिछडिएका समुदायका आधारभूत स्वास्थ्य आवश्यकतामा यसले महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित पूर्व मन्त्री तथा बागमती प्रदेश सभा सदस्य गङ्गानारायण श्रेष्ठले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउनु भयो ।
उहाँले आगामी वर्षका लागि बजेट तर्जुमा गरी सिन्धुली जिल्लाभर स्वास्थ्य सेवा विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
साथै, कठिन परिस्थितिमा पनि स्वास्थ्य सेवा जनताको पहुँचमा पुर्याउन प्रदेश सरकारलाई निरन्तर आग्रह गर्ने बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्यकर्मी, पत्रकार तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ ।