रूद्रबहादुर खड्का, सिन्धुली ।
कमलामाई नगरपालिका–९ स्थित जनजागृति माध्यमिक विद्यालय, भीमान अहिले खानेपानीको चरम अभावमा परेको छ। विद्यालयमा दैनिक रुपमा पानी नहुँदा विद्यार्थी तथा शिक्षक–कर्मचारीहरु मर्कामा परेका छन्।
विशेषगरी गर्मीको मौसममा पानी अभावले पिउन, शौचालय प्रयोग गर्न तथा सरसफाइ कायम राख्न समेत समस्या भएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नियमित पठनपाठनमा समेत असर परेको गुनासो गरेका छन्।
‘‘शौचालय प्रयोग गर्न जाँदा पानी नभएकाले अन्यत्रबाट पानी खोज्नुपर्छ, जसका कारण पढाइमा बाधा पुग्छ,’’ एक विद्यार्थीले बताए।
कतिपय विद्यार्थी त घरबाटै पानी बोकेर विद्यालय आउन बाध्य छन्। ‘‘प्यास लाग्दा पानी पाइँदैन, शौचालय दुर्गन्धित हुन्छ। सफा गर्न पानी नहुँदा बस्नै नसक्ने अवस्था हुन्छ,’’ उनीहरूको भनाइ छ।
विद्यालयमा हाल १ हजार जनाभन्दा बढी विद्यार्थी र ३० जनाभन्दा बढी शिक्षक–कर्मचारी कार्यरत छन्।
दैनिक झण्डै २ हजार लिटर पानी आवश्यक पर्ने विद्यालयमा एउटा सानो इनारबाट मात्र पानी आपूर्ति हुँदै आएको छ, जुन अपुग हुने गरेको विद्यालय प्रशासनले जानकारी दिएको छ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद निरौलाले खानेपानी समस्या समाधानका लागि वडा, नगरपालिका हुँदै सम्बन्धित उच्च निकायमा पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नु भयो ।
‘‘विद्यालयसँग आफ्नै स्रोत छैन। स्वच्छ पानीका लागि पटक–पटक माग गर्यौं, तर अहिलेसम्म कुनै पहल भएको छैन ।’’-उहाँले भन्नु भयो ।
स्थानीय स्तरमा खानेपानीको दीर्घकालीन समाधानका लागि उपभोक्ता समिति गठन गरिएको भए पनि योजना कहिले सम्पन्न हुन्छ भन्ने निश्चित नभएको प्रधानाध्यापक निरौलाको भनाइ छ।