मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

साना किसानको तहमा लघुवित्तको आशा

काठमाडौँ । नेपालको वित्तीय क्षेत्र सुदृढ बनाउन लघुवित्त संस्थालाई अझ बलियो बनाउनु पर्नेमा विज्ञ तथा सरोकारवालाहरुले जोड दिएका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को आयोजनामा सम्पन्न लघुवित्तका समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले ग्रामीण अर्थतन्त्र चलायमान बनाउँदै गरिबी न्यूनीकरणमा लघुवित्तको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवम् अर्थविद् डा. गुणाकर भट्टले लघुवित्त क्षेत्रमा देखिएका समस्याको समाधान साझा प्रयासबाट खोज्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले केही संस्थामा समस्या देखिँदैमा सम्पूर्ण लघुवित्त क्षेत्रलाई नकारात्मक रुपमा चित्रण गर्न नमिल्ने स्पष्ट पार्नु भयो ।

“लघुवित्त क्षेत्रमा समस्या मात्र होइन, सम्भावना पनि प्रचुर छन् ।”-भट्टले भन्नु भयो-“अर्थतन्त्र चलायमान बनाउन लघुवित्तको योगदान अझ बढ्न सक्छ ।”

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वासु अधिकारीले नियामक निकायका नीति, विधि तथा परिमार्जित कानुनबारे लघुवित्त क्षेत्रका नेतृत्वलाई अवगत गराउन कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

पछिल्लो कानुनी परिवर्तनबारे जानकारी दिन देशभरका ३५ भन्दा बढी लघुवित्त संस्थाका प्रमुखको सहभागितामा दुईपक्षीय छलफल गरिएको उहाँले उल्लेख गर्नु भयो ।

कार्यक्रममा प्रस्तुत दुई कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल राष्ट्र बैङ्क लघुवित्त सुपरिवेक्षण विभागका उपनिर्देशक पिताम्बर पोख्रेलले नियमाकीय सहजीकरणका लागि राष्ट्र बैङ्क तयार रहेको बताउनु भयो ।

उहाँले केही व्यक्तिका गलत अभ्यासका कारण लघुवित्त क्षेत्र बदनाम भएको उल्लेख गर्दै, कानुनसम्मत सुधारका लागि नियामक, सरोकारवाला र लघुवित्त क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राख्नु भयो ।

कार्यक्रममा नेरुडे मिर्मिरे लघुवित्त संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले लघुवित्त क्षेत्रका समस्या, चुनौती तथा दिगो व्यावसायिक सन्तुलन विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो ।

नेपाल राष्ट्र बैङ्कका उपनिर्देशक विवेक कोइरालाले लघुवित्त क्षेत्रका वर्तमान समस्या निराकरणका उपाय र नियामकीय रणनीति विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो ।

चार्टर्ड एकाउन्टेन्ट विदुर लुइँटेलले लघुवित्त संस्थामा कर्जा नोक्सानी व्यवस्था, अवधारणा र प्रभावबारे प्रस्तुति दिनु भएको थियो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले केन्द्र, प्रदेश र स्थानीय तहसम्म लघुवित्तका समस्या र चुनौतीबारे कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

हाल संस्थाले देशका ७७ ओटै जिल्लामा सेवा विस्तार गर्दै ग्रामीण क्षेत्रका विपन्न किसानलाई आयआर्जनसँग जोड्ने काम गर्दै आएको जनाएको छ ।

Author

Related News