पोखरा । निर्वाचन आयुक्त सगुन शमशेर जबराले निर्वाचन व्यवस्थापनलाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउनु सबैको साझा कर्तव्य रहेको बताउनुभएको छ ।
निर्वाचन आयोग नेपालको आयोजना तथा विकास साझेदार संस्था यूएनडिपीको सहयोगमा पोखरामा २०८३ जेठ १४ गतेदेखि सुरू भएको प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ सम्बन्धी निर्वाचन समीक्षा कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै आयुक्त जबराले सम्पन्न निर्वाचनको समीक्षा आगामी निर्वाचनलाई थप प्रभावकारी बनाउन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भदौ २३ र २४ गतेको राजनीतिक घटनापछि प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ घोषणा भएको उल्लेख गर्दै निर्वाचन आयोगको पहलमा सरकार र राजनीतिक दलबीच संवाद सुरु भएपछि निर्वाचनको वातावरण निर्माण भएको बताउनुभयो ।
आयुक्त जबराले सरकारको सहयोग, कर्मचारीहरूको दक्षता तथा आयोगको स्पष्ट निर्देशनका कारण निर्वाचन भयरहित, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सफलता मिलेको दाबी गर्नुभयो ।

उहाँले आगामी फागुन तथा वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारीका लागि कर्मचारी, राजनीतिक दल तथा सरोकारवाला सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कास्की जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले निर्वाचनलाई राष्ट्रिय पर्वको संज्ञा दिँदै नागरिक र सम्बद्ध पक्षहरूको सक्रिय सहभागिताले निर्वाचनको विश्वसनीयता बढाएको बताउनुभयो ।
उहाँले कास्कीमा निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु लोकतान्त्रिक प्रक्रियालाई पुनः सही दिशामा अघि बढाउने आधार बनेको उल्लेख गर्नुभयो ।

निर्वाचन आयोगका सहसचिव राजेन्द्रकुमार केसीले समीक्षा तथा छलफलबाट प्राप्त सुझाव आगामी निर्वाचनका लागि मार्गदर्शन बन्ने भएकाले सहभागीहरूलाई स्पष्ट रूपमा धारणा राख्न आग्रह गर्नुभयो ।
कास्कीकी प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले विषम परिस्थितिका बिच पनि निर्वाचन शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न हुनु जनचेतनाको सकारात्मक प्रभाव भएको बताउनुभयो ।
उहाँले प्रविधिको प्रयोग, दक्ष कर्मचारी, राजनीतिक दल र आमनागरिकको सहयोग निर्वाचन सफलताको मुख्य आधार बनेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा निर्वाचन आयोगका उपसचिव ऋषिराम भुसालले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ सम्बन्धी समीक्षात्मक प्रस्तुति दिनुभएको थियो ।
कार्यशालामा निर्वाचन व्यवस्थापन, निर्वाचन योजना तथा स्रोत व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा समावेशिता, निर्वाचन कानून तथा आचारसंहिता, समन्वय र निर्वाचन प्रविधि तथा सूचना व्यवस्थापनलगायत पाँच विषयमा समूहगत छलफल गरिएको थियो ।
निर्वाचन आयुक्त सगुन शमशेर जबराको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले गर्नुभएको थियो ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, ११ जिल्लाका निर्वाचन अधिकारी, मतदान अधिकृत, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला गरी करिब ५० जनाको सहभागिता रहेको थियो ।
