ललितपुर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु परिवर्तनजस्ता चुनौतीको समयमै समाधान गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा २०८२ साउन १३ गते शुभकामना सन्देश दिँदै उहाँले बाघ संरक्षणले पर्यटन प्रवर्धन र आर्थिक लाभमा टेवा पुर्याउने उल्लेख गर्नु भयो ।
उहाँका अनुसार अवैध शिकार, वन फँडानी, डढेलो र अव्यवस्थित सहरीकरणका कारण बाघको बासस्थान सङ्कटमा परेको छ।
पछिल्लो दशकमा नेपालले बाघ संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेको र यो सरकार, स्थानीय समुदाय, सङ्घसंस्था तथा अन्तर्राष्ट्रिय साझेदारको संयुक्त प्रयासको नतिजा भएको उहाँले स्पष्ट पार्नु भयो ।
उपराष्ट्रपति यादवले बाघको अस्तित्व केवल एक प्रजातिको संरक्षण नभई वातावरणीय सन्तुलनसँग पनि जोडिएको बताउनु भयो ।
उहाँले सबैलाई बाघ संरक्षणको साझा जिम्मेवारी वहन गर्न र सक्रिय सहभागितासहित अघि बढ्न अन्तर्राष्ट्रिय बाघ दिवसले प्रेरणा दिन सकोस् भन्ने विश्वास व्यक्त गर्नु भएको छ ।